धनगढी, १६ भाद्र नेपालको आन्तरिक हवाई यातायातमा पहिलोपल्ट जेट जहाज सेवा भित्राएको सौर्य एयरलाइन्सले शुक्रबार देखी काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गरेको छ । सौर्य एयरले भाद्र १६ गते शुक्रबार देखी हरेक दिन दिउँसो १२ः१५ बजे काठमाडौंबाट र १३ः२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने भएको हो । सौर्य एयरको सेवा सञ्चालनपछि नेपालको हवाई यात्रा सबै भन्दा लामो गन्तव्य भएको काठमाडौं–धनगढीको उडान समय बढीमा ४५ मिनेटको हुने बताइएको सौर्य एयरलाइन्स प्रालिका प्रबन्ध निर्देशक गोपल भट्राईले जानकारी दिए । अहिले अरु एअरलाइन्सको उडान समय ७५ मिनेटसम्मको हुने गरेको छ । दुई वर्षदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ सञ्चालन गर्दै आएको छ । यसअघि एउटै मात्र जहाज रहेको सौर्यको हालै अर्को जहाज आएपछि धनगढीमा समेत सेवा विस्तार हुने भएको हो । सो एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको छ । धनगढीमा सौर्यसंगै अब दैनिक चारवटा उडान हुने भएका छन् । धनगढीमा वुद्धले दैनिक दुई, नेपाल एअरलाइन्स र श्री एअरलाइन्सले एक र एक उडान भर्दै आएका छन् । सौर्यले अरु एअरलाइन्सको तुलनामा शुरुवाती भाडादर बढी कायम गरेको छ । सौर्यले शुरुवाती भाडादर ५,५०० बाट सुरु भएको र अन्य हवाई सेवा भन्दा कम मुल्यमा सुरक्षित सेवा दिने सौर्यका प्रमुख बजार व्यबस्थापक मुकेश खनालले बताए । सौर्य एयरलाईन्सको बिमानलाई धनगढी बिमानिस्थललाई धनगढीमा स्वागत गर्दै धनगढी उपमहानगरपालीकाकी उप मेयर शुसिला मिश्र भट्टले सुदुरपश्चिमको एक मात्र बिमानिश्थलमा हवाई सेवाको एकाधिकार ताडिएको भन्दै खुशि व्यक्त गरिन् ।