काठमाडौं । मौसममा आएको बदलीका कारण आठवटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न नसकेर काभ्रे र सिन्धुलीमा अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न जिल्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टरले मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण गर्नुपरेको हो ।
“मौसममा आएको बदलीका कारण विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका हेलिकप्टर काठमाडौं आउन सकेका छैनन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले बाह्रखरीसँग भने, “काठमाडौं आउन नसकेका हेलिकप्टर काभ्रे र सिन्धुलीमा आफूलाई सहज पर्ने ठाउँमा अवतरण गरेका छन् ।”
प्रवक्ता तिवारीका अनुसार पूर्वी नेपालमा मौसममा आएको बदलीका कारण केही असहज भएको हो । तत्लो तहमा नै बाक्लो बादल लागेका कारण विमान उडान तथा अवतरणमा केही अप्ठ्यारो भएको उनको भनाइ छ । काठमाडौं विमानस्थलमा भने विमान उडान तथा अवतरण भइरहेको तिवारीले जानकारी दिए ।