झुलाघाटमा पक्की पुल नबन्दा १९ बर्षदेखी ससुराली गएनन् चन्द

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरवहादुर चन्द ससुराली नगएको १९ बर्ष पुगेको छ। उनले १९ बर्ष अगाडी झुलाघाटमा मोटरेवल पुल निर्माण भए मात्रै मोटर चढेर ससुराली जाने घोषणा गरेका थिए। उनको ससुराली भारत पिथौरागढ स्थित देवत गाउँमा हो।
उक्त घोषणा गरेपछि उनी अहिले सम्म भारत गएका छैनन्। उनले भारत नजाने घोषणा गरेको १९ बर्ष वितिसकेको छ भने वैतडीवासीले पक्की पुलको माग गरेको पनि धेरै भईसक्दा समेत अहिले सम्म पुल निर्माणका लागि प्रक्रिया भने अगाडी बढेको छैन्।
‘ससुरालीमा विभिन्न कार्यक्रम हुँदै आएका छन्,’ अध्यक्ष चन्दले भने, ‘तर अहिले सम्म पुल निर्माण नभएकोले कुनै पनि कार्यक्रममा सहभागी भएको छैन्।’ २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको अध्यक्ष चन्दले बताए।
उद्योग बाणिज्य संघका अध्यक्ष चन्दकै संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरि भदौ २२ गतेदेखी बैतडीमा रिले अनसन समेत सुरु गरिएको थियो। झुलाघाटमा पक्की पुल नभएकै कारण भारतीय धार्मिक पर्यटकहरुलाई भि¥याउन सकिएको छैन् भने यो क्षेत्रमा आर्थिक गतिविधिमा समेत असर पारेको छ।
भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन्। ईष्ट ईंडिया कम्पनीले झुलाघाटमा डेढ सय बर्ष अगाडी झोलुंगु पुल भने निर्माण गरेको थियो।