धनगढी : धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका-१२ ओदालीका ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको हो।
भण्डारीलाई सोमबार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरेको थियो । उनको दिउँसो साढे ३ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो ।
डाक्टर निराज आलम अन्सारको समूहले अप्रेसन गरेका हुन् । उनका साथमा चन्द्रसिंह भण्डारी मात्र थिए । मृतका आफन्तले अस्पाताल बाहिर राखेका गमललगायतका सामग्री तोड्फोड गरेका छन् ।
उनको सोमबार राति १२ बजेतिर मृत्यु भएपनि आफन्तलाई मंगलबार दिउँसो मात्र अस्पताल प्रशासनले जानकारी दिएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
अस्पातल गेटमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। चेकजाँच पछि मात्र गेटबाट भित्र-बाहिर जान दिएको छ । अस्पताल सञ्चालक समितिले आधिकारिक विज्ञप्ति भने निकालेको छैन । अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले अप्रेसनपछि हृदयघातका कारण बिरामीको मृत्यु भएको जानकारी दिएका छन्।