धनगढी,६ माघ । पूर्व सांसद तथा समाजसेवी डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कांगेसले तोकेको भन्दै कम्युनिष्ट सरकारले गोदावरी सारेको आरोप लगाइन् ।
आइतबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राणाले सुदूरपश्चिम प्रदेशको राजधानी सरकारले सार्न नहुने भन्दै तत्काल निर्णय खारेज गर्नुपर्नेमा जोड दिइन् ।
उनले प्रदेश सरकारले राजधानी गोदावरीमा सार्नुमा पारदर्शिता र उचित तर्क नभएको दाबी गरिन् । राजधानी धनगढीबाट सार्नु पर्ने कारण के हो ? कि पाचँ वर्षपछि कांग्रेसको सरकार आए गोदावरीबाट पनि राजधानी सार्ने ? आरजुले प्रश्न गरिन् ।
सरकारले धनगढीमा भौतिक संरचनाको लागि राज्य कोषबाट अर्बौ लगानी गरिसकेको र प्रतिपक्ष सरकारले गरेको निर्णयलाई स्वीकार गर्न नसकेर राजधानी सार्नु उपयुक्त नभएको बताईन् ।
गोदावरी तेघरी क्षेत्र पर्यावरणीय दृष्टिकोणले उपयुक्त नभएको बाघ, हात्ति जस्ता जंगली जनावरको वासस्थान र बाटो भएको आरजुले प्रष्टाइन् ।
तेघरीको जंगलमा राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध अधिवक्ता मनीषकुमार श्रेष्ठसहित ९ जनाद्धारा दायर रिट निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
प्रदेश सरकारले भने राजधानीको लागि जग्गा नाप्ने र लिजमा लिने कार्य अगाडि बढाइ सकेको छ ।