धनगढी,७ माघ।कैलालीको अत्तरियामा शनिबार साँझ आपसमा भएको विवादका क्रममा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त गोदावरी नगरपालिका २ का २१ वर्षिय विनोद ऐरलाई सार्वजनिक गरेको हो ।
ऐरसँगै हत्या घटनाका अभियुक्त धनगढी उप–महानगरपालिका ३ बोराडाँडीका डेबिट ऐर, भजनी नगरपालिका २ घर भई धनगढीमा बस्दै आएकी २१ वर्षिय मन्जु चौधरी खडका र धनगढी उपमहानगरपालिका १३ शिवटोलका २१ वर्षिय लोकेश खत्रीलाई पनि सार्वजनीक गरिएको छ ।
प्रहरीका अनुसार मुख्य अभियुक्त विनोद ऐरले धारिलो हतियार प्रहार गरी भट्टको हत्या गरेको, डेबिट ऐरले उनलाई मोटरसाइकलमा राखेर भगाएको, मन्जु चौधरी र लोकेश खत्रीले आफ्नो डेरामा लुकाएका थिए । प्रहरीले उनीहरुलाई हिजोराति धनगढीबाट पक्राउ गरेको हो ।