काठमाडाैं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा बढिरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटनाले यसलाई नियन्त्रण गर्ने निकाय छ कि छैन भन्ने प्रश्न उठेकाे बताए । उनले यस्ता घटनामा संलग्न पक्राउ परेका छन् कि छैनन् ? भन्ने प्रश्न गरे ।
विहीबारको संसद बैठकमा समय लिएर बोल्दै उनले भने ‘मान्छे हेर्न चाहान्छ काम अनि परिणाम । परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शीर ठाडो हुने थियो । यो कानले सुन्नुपर्ने थिएन ‘जुन जोगी आएपनि कान चिरेको ।’
सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाईरहेको तर्क उनको थियो । सर्वत्र सरकारका कामकारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेको भन्दै उनले कामको गम्भीर समिक्षा गर्न सुझाव दिएको खबर नयाँ पत्रिकाले लेखेको छ ।
नेता नेपालले विभिन्न फैसलाहरुमा जहिलेपनि भ्रष्टलाई जिताउने व्यक्तिहरुनै माथि आउने सिलसिला कहिले बन्द हुने ? भन्ने प्रश्न गर्दै जनताले भनिरहेका कुराहरुको प्रतिवाद नगरी त्रुटी खोज्न, समस्या समाधान गर्ने संकल्प गर्नतर्फ लागे सिंगो नेपाली जनताको समर्थन रहने बताए ।
अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले निराशा व्यक्त गर्दै कालोसूचीमा परेका व्यक्तिहरु दण्डित हुनको सट्टा पुरस्कृत हुने, जति अपराध गर्यो, त्यति पुरस्कृत हुने प्रवृत्ति देख्दा दिक्क लागेर आउने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले कुनै पनि षड्यन्त्रमा फस्ने काम नगरी, ढिलासुस्ती गर्नेहरुलाई कुनै पनि हालतमा पन्छाउन आँट गर्नुपर्ने बताए । दुईतिहाईको सरकारबाट जनताले ठुलो आशा र अपेक्षा राखेको भन्दै उनले मुलुकको हर समस्या समाधान गर्ने संकल्प र आंटका साथ अघि बढ्न सरकारलाई सुझाव दिए ।