फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्वर १९ फूलवारीमा यहि जेठ २६ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान संचालन गरिने भएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार संचालन गरिने खोप अभियानमा ६ महिना देखी १५ वर्षसम्मका सम्पुर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाईने भएको छ ।
फूलवारी स्वास्थ्य चौकी धनगढी-१९ अन्र्तगत रहेका सम्पुर्ण खोप केन्द्रहरुमा यहि जेठ २६ गतेदेखि ३० गतेसम्म समय तालिका मिलाएर खोप लगाइने स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
आज बुधवार फूलबारी स्वास्थ्य चौकीले खोप अभियान सफल पार्न महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका,खोप समन्वय समिति,सामाजिक अगुवा, भलमन्सा तथा सरोकारवाहरुको सहभागितामा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य चौकीकी अधिकृत जयकला रावलले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा नेपालबाट दादुरा रुवेला रोगको निवाकरण गर्ने प्रतिवद्धता गरे अनुरुप अन्तिम चरणमा रहेको अवस्थामा दुर्भाग्यबस यहि वर्ष बैशाख महिनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा दादुरा रुवेलाका विरामी भेटिएको बताइन् । उनले धनगढी संगै पहाडी जिल्ला बाजुरा, बांके लगायत देशका विभिन्न जिल्लामा दादुरा रुबेला रोगका बिरामी भेटिएकाले नेपाल सरकारले खुल्ला सिमाना भएका र रोग संक्रमण देखिएका जिल्लाहरुमा खोप अभियान संचालन गरेको जानकारी दिइन् ।
नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र १६ प्रतिशत बालबालिकाले पुरा खोप नलगाएको सर्वेक्षणले देखाएको स्वास्थ्य अधिकृत रावलले बताइन् । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, खोप क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता प्रमुख समस्या रहेको गुनासो गरिन् ।
रावलले नेपाल सरकारले फेरि सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोगको निवाकरण गर्ने लक्ष्य लिएको बताउंदै ९५ प्रतिशत भन्दा बढि बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले सबैलाई सहयोगको लागी अनुरोध गरिन् ।