धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ ।
सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो । त्यस्तै सुदूरपश्चिम सरकारले कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने भएको छ ।
अत्तरियास्थित कम रुख बिरुवा रहेको स्थानमा वृक्षारोपण गरी प्रदेश स्तरीय चिडियाखाना स्थापना गर्ने बताएका हुन् । संघीय सरकारसँगको समन्वयमा चिडियाखाना स्थापना गर्न अगामी आर्थिक वर्षभित्रै क्षेत्र निर्धारण, सीमांकन गरी डीपीआर तयार गरिने र स्थापनाको कार्य प्रारम्भ गरिने बताइएको हो । सुदूरपश्चिम प्रदेश सरकारले अछाम, बैतडी, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने भएको छ ।