हामि संग जोडिनुहोस

समाचार

ट्यांकी बनेको ८ बर्षपछि फूलवारीमा पानी वितरणको तयारी, मंसिरसम्म उपभोक्ताले पिउन पाउने

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-४-१४
  • सुन्नुहोस् 
3.46K  
Banner

धनगढी । धनगढी उपमहानगरपालिका स्थित फूलवारीमा मंसिरसम्म खानेपानी वितरण गरिने भएको छ । उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा पर्ने १४, १८ र १९ वडामा करिब ८ बर्ष पहिले निर्माण सम्पन्न भई प्रयोगविहिन अवस्थामा रहेका दुईवटा पानी ट्यांकीबाट पानी वितरण गरिने भएको हो । 

धनगढीको वडा न. १४ डिपो बजार र १९ को पच्चिर घरमा निर्माण सम्पन्न भई लामो समयदेखि प्रयोग विहिन अवस्थामा रहेका दुईवटा ट्यांकीबाट मंसिरसम्म पानी वितरण गर्ने गरि प्रक्रिया थालिएको नेपाल खानेपानी संस्थान कैलालीका प्रमुख शैलेन्द्र शाहले जानकारी दिए । उनले चालु आर्थिक बर्षमा खानेपानी ट्यांकीबाट पानी वितरणको लागि आवश्यक बजेट संघिय सरकारसंग माग गरिएको बताए । 

धनगढी उपमहानगरपालिकाको नगरसभाबाट निर्णय भई नेपाल खानेपानी संस्थानलाई संचालनको अधिकार प्राप्त भएकाले मंसिरसम्म उपभोक्ताको धारामा पानी पुर्याउने गरि भदौदेखि काम सुरु गरिने संस्थानका प्रमुख शाहले जानकारी दिए । उनले दुबै ट्यांकीमा सामान्य समस्या मात्र देखिएकाले खानेपानी ट्यांकीबाट पानी वितरण गर्न धेरै समय नलाग्ने बताए । 

वि.स २०७२ सालमा निर्माण गरिएका दुबै ट्यांकीको संचालन तथा वितरणका लागि उपभोक्ता समिति गठन गरिएको थियो । धनगढी १४ मा बर्तमान वडा अध्यक्ष मान बहादुर बिष्ट र वडा न. १९ मा निवर्तमान वडा अध्यक्ष तिलुराम चौधरीलाई करिब ७ बर्ष पहिले उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिइएको धनगढी १८ का अध्यक्ष भुवन रिजालले जानकारी दिए । 

तर उपभोक्ता समितिले करिब ७ बर्ष सम्ममा खानेपानी वितरण गर्न नसकेपछि वडाको सिफारिसमा चालु आर्थिक बर्षको नगरसभाबाट पारित गरि खानेपानी वितरण तथा संचालनको जिम्मेवारी नेपाल सरकारको खानेपानी मन्त्रालय अन्र्तगत् रहेको नेपाल खानेपानी संस्थानलाई दिइएको अध्यक्ष रिजालले बताए ।

उनले उपभोक्ता समिति खारेज गरी खानेपानी संस्थानलाई दुबै ट्यांकी हस्तान्तरण गरिएको बताउंदै अब पानी वितरणमा समस्या नहुने विश्वास व्यक्त गरे । सरकारी स्वामित्वको खानेपानी संस्थान मार्फत् पानी वितरण हुने भएकाले उपभोत्ताले सस्तो मूल्यमा सफा पानी पिउन पाउने उनले दाबी गरे । 

उपभोक्ता समितिले केही बर्ष पहिले प्रति परिवार एक हजारका दरले उठाएको रकम धारा जडान गर्दा उपभोक्तालाई सहुलियत दिने गरी सम्झौता गरिएको अध्यक्ष रिजालले बताए । 

निर्माण सम्पन्न भएको ८ बर्षसम्म पनि ट्यांकीको पानी पिउन नपाइएकोमा आक्रोस व्यक्त गर्दै फूलवारीका स्थानीयले अझैपनि पानी आउनेमा आशंका व्यक्त गरे ।  धनगढी १९ का मंगल बहादुर सिंहले खानेपानी वितरणको जिम्मा नेपाल खानेपानी संस्थानलाई दिइएकोमा खुसी व्यक्त गर्दै चांडै पानी आउनेमा आशावादी रहेको बताए । उनले संस्थान सरकारी कार्यालय भएकाले उपभोक्ता समितिलाई जस्तो काम गर्न चुनौती नहुने बताए । 

ट्यांकी निर्माणपछि ८ बर्षसम्म संचालनमा ल्याउन नसक्दा फूलवारीका जनताले सफा पानी पिउनबाट बन्चित भएकाले तोकीएकै समय मंसिरसम्म पानी वितरण गरिनुपर्ने स्थानीयहरुको माग छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्