समाचार
विद्यालय बन्दको घोषणा स्थगित गरी वार्तामा आउन शिक्षक महासङ्घलाई सरकारको आह्वान
काठमाडौँ । सरकारले संसदमा पेश भएको शिक्षा विधेयक, २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासङ्घलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान् अर्यालले महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।
महासङ्घले उठाएका कतिपय मागहरू विधेयकमा समावेश गरिएको विज्ञप्तिमा दाबी गरिएको छ भने कतिपय मागहरू विधेयक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासङ्घलाई वार्ताका लागि बोलाइएको हो ।
‘महासङ्घले संविधान दिवसका दिनबाट घोषणा गरेका विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मङ्गलवार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई हार्दिक आग्रह गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा विधेयकप्रति असुन्तुष्टी जनाउँदै महासङ्घले संविधान दिवसदेखि देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्