धनगढी। कैलाली सहित देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित बनेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति असन्तुष्टि जनाउँदै आन्दोलित बनेको जानकारी दिइएको हो । सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको नेपाल सुनचाँदी व्यवसायी सघं कैलालीका अध्यक्ष यदु सुनारले बताए ।
यस्तो प्रक्रिया व्यवसायमा घाटा पुर्याउने भन्दै यसमा पुनर्विचार गर्न उनले माग गरे । ब्यवसायीहरुले नयाँ कर प्रणालीको बिरोध गर्दै हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । भोली हात हातमा पसलका चावी लिएर धनगढी चौराहा देखी जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपुर्ण र्याली निकालिने अध्यक्ष सुनारले बताए । हाल लागू भएको सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गरी तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी ब्यवसायीहरुको माग छ । सुनचाँदीको भन्सार ६ प्रतिशत कायम गर्न समेत माग गरेका छन् ।
हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ। व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी सुनचाँदी कारोबार हरूको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्