हामि संग जोडिनुहोस

समाचार

बाढीपहिरोले काभ्रेमा विद्युत र सञ्चारमा पनि समस्या

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
129  
Banner

 काभ्रे । काभ्रेमा बाढीपहिरोले यातायातसँगै विद्युत र सञ्चार पनि प्रभावित भएको छ । बाढीपहिरोले विजुली बत्तीमा क्षति पुर्‍याउँदा सञ्चारसमेत प्रभावित भएको हो ।जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले सञ्चारमा समस्या हुँदा वीपी राजमार्गअनर्तगत रोशी क्षेत्रबाट अलपत्र यात्रुहरुको उद्धार भएपनि अन्य क्षेत्रको बारेमा जानकारी लिन नसकिएको बताइन् । ‘ग्रामीण क्षेत्रमा विद्युत अवरुद्ध हुँदा सञ्चारसेट तथा मोबाइल चार्ज नभएर घटनाबारे एकिन जानकारी लिन समस्या भयो’, उनले भनिन् ।बाढी पहिरोले काभ्रेका १३ पालिका मध्ये ७ पालिका केन्द्र जोड्ने सडक क्षतविक्षत बनाएको छ । जिल्लाको बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध र पाँचखाल, र मण्डनदेउपुरको पालिका पुग्ने सडक खुलेपनि अन्य पालिकाहरुमा जाने सडक पूर्ण रुपमा बन्द छन् ।जिल्लाको बेथानचोकमा पनौतीको सिमाना देखिनै अवरुद्ध छ । सडक र विद्युतको समस्याले उद्धार र राहतमा कठिनाइ भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार पनौती–खोपासी–चलाल–ढुंखर्क जाने सडकको चलाल–ढुंखर्क सडक पूर्ण रुपमा बन्द भएको छ ।त्यस्तै रोशी गाउँपालिका जाने वीपी राजमार्ग रोशी र दाप्चा खोलाले बगाउँदा केन्द्र जाने सडक पूर्ण रुपमा बन्द छ । बाढीका कारण रोशी पालिकाभित्र पर्ने वीपी राजमार्गमा धेरै क्षति भएको छ । रोशी भित्रको चौकीडाडा, लास्कोटबेशी, चारसय, गिम्दीबेशी, नार्के, दाउन्ने, मंगलटार, कालढुंगा, डालाबेंशी, माम्ती लगायतका ठाउँमा वीपी राजमार्ग नै बगाएको छ ।नमोबुद्धको भकुण्डेबेंशीसम्म यातायात चलेपनि भित्री सडकहरु अवरुद्ध छन् । भकुण्डेबेशी हुँदै तेमालको केन्द्र जाने भकुण्डे–नारायणस्थान–मेच्छे सडक समेत बन्द छ ।काभ्रेको कर्णाली भनेर चिनिने महाभारत र खानीखोला केन्द्र जाने सडक पनि पूर्णरुपमा क्षति भएको छ । खानीखोलामा अलपत्र परेकाहरुलाई हेलिकप्टर मार्फत राहत सामाग्री पठाइएको छ ।कोशीपारी क्षेत्रमा रहेको भुम्लु र चौरीदेउराली गाउँपालिकाको केन्द्र पुग्ने सडक अवरुद्ध छ । भुम्लुको केन्द्र सल्ले जान दोलघाटबाट सडक खुलाउँदै गइरहेको भुम्लु गाउँपालिकाले जनाएको छ । केन्द्रसम्म यातायात पुगेका पालिकाहरुका ग्रामिण भेग समेत अवरुद्ध छन् ।अरनिको राजमार्गको काभ्रे खण्डको धुलिखेल खावा सडक खण्ड एकतर्फी तथा खावाबाट दोलालघाटसम्म दुईतर्फी नै यातायात सञ्चालनमा आएको पाँचखाल नगरप्रम्ख महेश खरेलले जानकारी दिए ।सडक सञ्जालमा क्षति पुग्दा उद्धारमा जान लागेका नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी समेत पैदलमार्गबाट गन्तव्यसम्म पुग्न समस्या भएको छ ।

पहिरोमा पुरिएका तेमाल २ मा एकै परिवारका ८ जना पुरिएका मध्ये ५ जनाको ४८ घण्टा पछि मृत अवस्थामा भेटिए भने अन्य ३ जना अझै फेला पर्न सकेका छैनन् । स्थानीय शिक्षक ग्यान्जा लामाका अनुसार उद्धार टोली नै त्यहाँ ४८ घन्टा पछि पुगेको थियो ।

नेपाली सेनाको उद्धार टोली र स्थानीयले पुरिएको ठाउँ उत्खनन् गर्दा ५ जनाको शव भेटिएको लामाले बताए । उनका अनुसार उक्त ठाउँमा अझै ३ जना बेपत्ता छन् ।त्यस्तै नमोबुद्ध ५ ठोक्रेमा पहिरोमा परेर २ जना पुरिएको मध्ये १ जना अझै निकाल्न नसकिएको सुन्दर बडालले जानकारी दिए । काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ६५ जनाको मृत्यु, ५२ जना घाइते तथा ६ जना बेपत्ता छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्