समाचार
सुदूरपश्चिमका मन्त्री धामीले बुझाए मन्त्री किराँतीलाई ९ बुँदे सहजीकरणपत्र

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रमेश धामी र संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबीच भेटवार्ता भएको छ।
भेटवार्ताको क्रममा मन्त्री धामीले सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा विकासको लागि आवश्यक सहजीकरण गरिदिन मन्त्री किराँतीलाई ९ बुँदे माग पत्र समेत बुझाएका छन्। मन्त्री किराँतीलाई पेश गरिएको सहजीकरण पत्रअनुसार निजी हवाई कम्पनीहरुले विदेशी पर्यटकहरुको हकमा लगाउँदै आएको भाडा दर घटाउन आग्रह गरिएको छ।
विदेशी पर्यटकले नेपालीको तुलनामा चार गुणा बढी भाडा तिर्नु पर्ने अवस्था रहेकोले निजी हवाई कम्पनीको नीतिले सुदूरपश्चिममा विदेशी पर्यटकहरु नआएकाले तत्काल भाडा दर समायोजनका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
सुदूरपश्चिमको ऐतिहासिक दरबार, मन्दिरलगायतको पुरातत्त्व विभागबाट अध्ययन गरिनुपर्ने समेत माग गरिनुको साथै पुरातात्त्विक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि आवश्यक बजेट समेत बिनियोजन गर्न मन्त्री धामीले पर्यटन मन्त्री किराँतीसँग आग्रह गरे।
गेटा विमानस्थलको स्तरोन्नती र गेटाबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साप्ताहिक रुपमा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चालन गर्नुपर्ने, सुदूरपश्चिममा नाथनको प्रदेश कार्यालय स्थापना गर्न र पर्यटन प्रबद्र्धनका लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरु सुदूरपश्चिममा सञ्चालन गर्न आग्रह गरिएको छ। साहसिक पर्यटनका रुपमा चिनिने प्याराग्लाईडिङ, बञ्जी जम्प, जीप लाइनको अनुमती प्रदेश सरकारलाई दिनु पर्ने समेत मन्त्री धामीले माग गरेका छन्।
पर्यटकहरु बोक्ने हरियो नम्बर प्लेटको सवारी साधनलाई प्रदेश पर्यटन मन्त्रालयले यातायात कार्यालयसँग समन्वय गरी दर्ता अनुमति दिने अधिकार दिनुपर्ने माग गरिएको छ। यसैबीच, मन्त्री किराँतीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट मन्त्री धामीले प्रस्तुत गरेका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्