काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार चौधरी डिल्लीबजार कारगारबाट रिहा भएका हुन्।
२ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दीपायलको फैसला सदर गरेको थियो। ७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो। उक्त घटनापछि रेशम भूमिगत भएका थिए। भूमिगत रहँदै उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए।
प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। त्यसपछि सांसदको शपथ लिएका उनलाई पुनस् कारागारमै लगिएको थियो भने उनलाई सांसदबाट निलम्बन समेत गरिएको थियो।
गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् । समग्रमा गणतन्त्र दिवसका अवसरमा आज राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका हुन्।