धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।
पीडितहरूले निःशुल्क निवेदन लिएर वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयको कर्मचारीको सहयोगमा निःशुल्क फाराम भर्नसक्ने जिल्ला प्रशासन कार्यलय कैलालीद्धारा प्रकाशित सूचनामा जनाइएको छ । पीडितहरूले ब्यहोरा खुलाई आफूसँग भएको सबै सबुत प्रमाणसहित तोकिएको ढाँचामा फाराम भर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
विगतमा निवेदन दिएकाहरूले पनि यो फाराम भर्नुपर्ने उहाँको भनाइ छ । प्रशासनले यसअघि पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको थियो । सो अवधिमा करिब ९६ जनाले उजुरी दिएको जोशीले जानकारी दिए ।