धनगढी । धनगढीको मुख्य सडक निर्माणको जिम्मा केएस कन्स्ट्रक्सनले पाउने भएको छ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय कैलालीका अनुसार केएस कन्स्ट्रक्सनले सो सडक निर्माणको ठेक्का पाएको हो। धनगढीको कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माणको ठेक्का खोलिएको छ।
पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख राजचन्द्र खत्रीले साढे ५१ करोडमा केएस कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पाएको बताए। तर सम्झौता भएको छैन। केएससँग सडक निर्माणका लागि सम्झौताको तयारी भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिकाले मुख्य सडक चोडाईका लागि १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो। उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय मिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली गरिएको थियो। घरधनीहरुले संरचना खाली गर्ने काम जारी नै छ।
धनगढीको ट्राफिक जामको समस्या समाधानका लागि उपमहानगरले फराकिलो सडक निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो। धनगढी चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्रको काम हुँदैछ।