धनगढी । कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि प्रहरीले गोली चलाएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेपछि प्रहरीले गोली चलाएको हो ।शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो ।
बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । ड्रोन क्यामेराबाट हेर्दा भने झाडीमा महिला देखिएपनि बाघ पनि सोही ठाउँमा बसेको प्रहरीले जनाएको छ । बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीयबासिन्दा आक्रोशित छन् । पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ । तर त्यसका लागि माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र जिल्ला सव वन डिभिजन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय आक्रोसित हुँदै प्रहरीमाथि नै ढुंगा प्रहार गरेका छन ।
ढुंगा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक चन्द्र खडायत घाइते भएका छन । आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको छ ।