धनगढी । धनगढी उपमहानगरपालिका - १४ को कार्यालयले सडकमा राखिएका निर्माण सामाग्री हटाउन किरण कन्सट्रसनलाई अनुरोध गरेको छ । फूलवारी स्थित एच गाउँको ५०० मीटर सडक कालोपत्रे गर्ने कामकोलागि सम्वन्धित निर्माण कम्पनिले सडकमा थुपारेका निर्माण सामाग्री हटाउन वडा कार्यालयले अनुरोध गरेको हो । निर्माण कम्पनिले विगत एक महिनादेखि सडकमा आवतजावत र यातायातका साधन संचालनमा समस्या हुने गरी निर्माण सामाग्री थुपारेर राखेको कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
सडकमा जथाभाविरुपमा निर्माण कम्पनीले थुपारेर राखेका निर्माण सामाग्रीका कारण आवागमनमा अवरोध भई दुर्घटना समेत हुनेगरेका छन् । वडा कार्यालयले सडकको क्षेत्राधिकार भित्र थुपारिएका सम्पूर्ण सामाग्रीहरु अबिलम्ब खाली गर्न सम्वन्धिन निर्माण कम्पनीलाई अनुरोध गरेको छ । सडक कालोपत्रेको ठेक्का पाएको किरण कन्सट्रसन अत्तरियाले सडकमा राखिएको सामग्री नहटाए कारवाही गरिने वडा कार्यालयले बताएको छ ।
एक महिना देखी सडकमा निर्माण सामाग्री राख्दा आवागमनका साथै किसानलाई अन्नबाली ओसार्न, डल्लब लिन, थ्रेसर लगाउन समस्या भएको स्थानीय यादब भण्डारीले बताए । उनले निर्माण कम्पनीको कारण स्थानीय बासिन्दाले दुस्ख पाएको बताउँदै छिटो खाली गर्न माग गरे । उनले सम्बन्धित निमार्ण व्यवसायीलाई फोन गर्दा फोन नउठाएको गुनासो पोखे ।