फूलवारी । फूलवारी स्थायी घर भएका कमल कुमार ऐडी स्ववियु सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतको कैलाली बहुमुखी क्याम्पसमा चैत्र ८ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ऐडी सदस्य पदमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघ(नेवि संघ) को तर्फबाट निर्वाचित ऐडीले कुल ७८० मत प्राप्त गरेका थिए ।
कैलाली बहुमुखी क्याम्पसमा बिएस्सी सिएसआईटि दोस्रो सेमेस्टरमा अध्ययनरत ऐडीले राजनितिक जिवनको पहिलो प्रयासमै सफलता मिल्दा अत्यन्तै खुसी भएको बताए । उनले आफुलाई सदस्य पदमा विजयी गराउने कैलाली बहुमुखी क्याम्पसका सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले आफुलाई विश्वास गरेर विजयी गराउने मतदाताको विश्वासमा खरो उत्रेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका यमराज जोशी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घ नेविसंघ का हरिस खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्वन्द्वी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी अनेरास्ववियूका रमेश बोहरालाई पराजित गर्दै पन्त विजयी भएका हुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका दिनेशराज जोशीलाई पराजित गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।
सभापति गुमाए पनि नेवि संघले कैलाली क्याम्पसमा बुहुमत सदस्य जितेको छ । नेवि संघको तर्फबाट बर्षा सुनार,प्रमिला शाह,जनक अवस्थी,हिमाल थापा गौरी सिंह र गणेश राज उपाध्याय स्ववियु सदस्यमा विजयी भएका छन् । ४ हजार ३ सय बढि मतदाता रहेको यस क्याम्पसमा २ हजार ३ सय ६८ मत खसेको थियो।