धनगढी।सुदुरपश्चिम प्रदेश सरकारले बिगतमा उपभोक्ता समिति र साना योजना मार्फत भईरहेको बजेटको दुरुपयोग रोक्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।सुदुर पश्चिम प्रदेश बिशेष अनुदान सम्वन्धी कार्य विधि २०७९ पास गर्दै प्रदेश सरकारले त्यसका लागि बजेट सिलिङ कम्तिमा २५ लाख रुपैया बनाएको छ ।
बुधवार बसेको मन्त्रि परिषदको बैठकले सुदुर पश्चिम प्रदेश समपुरक अनुदान सम्वन्धी कार्य विधि २०७९ समेत स्वीकृत गर्दै त्यसको बजेट सिलिङ कम्तिमा ५० लाख बनाएको छ । साथै दुईवटै कार्यबिधी कार्यान्वयनमा उपभोक्ता समिती मार्फत कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गरेको छ । उपभोक्ता समिति र साना योजना मार्फत प्रदेश सरकारको बजेटको चरम दुरुपयोग भएको व्यापक गुनासो आएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसले साना योजनाका नाम र उपभोक्ता समितिका नाममा भईरहेको भ्रष्टाचारलाई रोक्ने विश्वास गरिएको छ ।
त्यस्तै आज बसेको प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले प्रा.डा.हेमराज पन्तको सयोजकत्वमा ३ सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाब कार्यदल बनाउने निर्णय गरेको छ ।यसैगरी सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा पूर्व मेडिकल सुपरिटेण्डेट डा।गणेश बहादुर सिंहको सयोजकत्वमा ३ सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाब कार्यदल गठन गरिएको छ । दुबै कार्यदललाई काम सुरु गरेको दिन देखि ३५ दिनको कार्य अवधी तोकिएको छ ।
मुख्यमन्त्रि कमल शाहको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्बाधार विकास मन्त्रि प्रकाश देउवा र आर्थिक मामिला मन्त्रि नरेश शाहीको उपस्थिति रहेको थियो ।