धनगढी । कैलालीको लम्की चुहा नगरपालिका ३ चिसापानी स्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । निर्माण कार्य सम्पन्न भएदेखि मर्मत सम्भार नहुँदा पुल जिर्ण बनेको हो ।
निर्माण सम्पन्न भएको तीन दशक हुँदा पनि उक्त पुलले सामान्य मर्मत सम्भार र रङ्गरोगन समेत पाएको छैन । उक्त जिर्ण अवस्थामा रहेको पुलको आज कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले निरीक्षण गरेका छन् । ७४ सालसम्म पुलको रेखदेख हुँदै आएकोमा त्यसपछि भने कसैको चासो गएको छैन । पुलको कुनै ठाउँमा नटबोल्टमा खिया लागेर भाँचिएको छ । पुलमा प्रयोग भएको धेरै जस्तो नट बोल्ट हराइसकेका छन् । पुललाई अडाउन बनाइएको तार पनि चुडिएको छ । पुलको ब्यालेन्स हेर्नको लागि बनाइएको बल्ब केहि फुटिसकेका छन् ।
पुलको निरीक्षणपछि सांसद चौधरीले संसदमा पुलको बिषयमा सशक्त आवाज उठाउने बताएका छन् । “मैले पनि पहिला यसको बारेमा राम्रो बुझ्ने मौका पाएको थिइन् , साथीहरुले बताए अनुसार अब यसको बारेमा सशक्त आवाज उठाउने छु ।” उनले भने, “यहाँको इन्जिनियर साथीहरुले हेर्नुहोला सुरुमा , उहाँहरुले नसके बाहिरबाट मगाएर भएपनि यसको सम्भार गर्न आवस्यक छ ।” उनले पुल महाशाखालाई खबर गरेर ठोस निष्कर्ष निकाल्ने समेत बताए । उनले पुल बनिसकेपछि एक पल्ट पनि मर्मत सम्भार नभएको बताएका छन् ।
पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।
२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । “पुलका कतिपय ‘नट बोल्टहरु’ खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’ केबल तार चुँडिएका छन्”, स्थानीयवासी भरत कटुवालले भने, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।”
तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । जसका कारण पुल कमजोर बन्दै गएको छ ।
पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको स्थानीयवासीले बताए । उनीहरुले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’ समेत खस्न थालेको बताए । “नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”, स्थानीय दीक्षा आचार्यले भनिन् , “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।”
पुलको बनावट :
खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ। मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आउने गर्दछन् |
प्राबिधिक खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। तराजु शैलीमा दुवैतिरका भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्।
पुल जिर्ण बन्दै जानुको कारण :
सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्। पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी साधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको छ ।
२०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। पुल सञ्चालनका सुरुवाती दिनमा जापानी प्राविधिकले पुलमाथि धेरै गाडी गुडाउन नहुने बताएका थिए। पछिल्ला दिन स्थानीय चाडपर्व तथा जन्मदिनमा पुलमा आउने र तस्बिर लिने, नाच्ने, गाउने लगायतका कार्यले पुलमा सयौँ मानिसको भीड लाग्ने गरेको छ।
पुल हेर्न भनेर टाढा टाढाबाट पनि मानिसहरू आउने गरेका र विशेषगरी भारतबाट आउने पर्यटकको आकर्षणको केन्द्र बनेको पुलको सुरक्षाभन्दा पनि पुलमा प्रयोग भएका सामान चलाउने, खोतल्ने लगायतका कार्य पनि हुँदै आएको छ। फलाममा खिया लागिसकेको छ। पुलमाथि गाडी रोकेर राख्ने, पुलमाथि नै पसल राख्ने पनि गरिएको छ।
२०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलको १४२ ठाउँमा गोली लागेको छ। गोलीले खत लागेको ठाउँमा अहिले खिया लागिरहेको छ।