धनगढी– बालबालिका मन्टेश्वरी स्कुलले आफ्नो ४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित भव्यताका साथ मनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै ख्यातिप्राप्त स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए ।
विद्यालयकी प्रिन्सिपल ज्ञानु जोशी कार्कीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथि ब्रह्मकुमारी हीरा दिदी रहेकी थिइन् । कार्यक्रममा बालबालिका मन्टेश्वरी स्कुलका बालबालिकाहरुले सुदूरपश्चिमका विभिन्न समुदायका भाषाभाषीका नृत्य गर्नुका साथै गीत, नाटक प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन दिलाएका थिए । उपस्थित अभिभावकले आफ्ना बालबालिकाका प्रस्तुति कार्यक्रमको अन्तिमसम्म दृश्यावलोकन गरेका थिए । शुक्रबार दिनभर चलेको कार्यक्रममा दर्जनौ गीतमा विद्यालयका बालबालिका,विद्यालयका शिक्षिकाहरुले नृत्य गर्नुका साथै स्थानीय चर्चित कलाकार लक्ष्मी बिसी, अुन खड्का, निर्मला मडै, गोपाल अवस्थी लगायतको प्रस्तुति रहेको थियो । विद्यालयमा सप्ताहव्यापी चलेको विविध खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय भएका बालबालिकाहरुलाई पनि प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो भने नव आगन्तुक विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले स्वागत गरिएको थियो ।
अभिभावक, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वसहितको उपस्थिति रहेको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सञ्चालन गुणाकर पनेरु र सृष्टि मल्लले गरेका थिए । कार्यक्रममा अभिभावकहरुले समेत विद्यालयका बारेमा चर्चा गरेका थिए ।