शिवशिखरले तर्सिएका निक्षेपकर्ता, नवजीवन बिश्वस्त पार्दै बचतकर्ता

धनगढी । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था धनगढी शाखाले कार्यालय बन्द गरेर सम्पर्क बिहीन भएको महिना दिन पुग्न लाग्यो । सहकारी संस्थाको सुदूरपश्चिम प्रदेश कार्यालयले एक सूचना जारि गर्दै कार्यालय बन्द गरेको थियो । सहकारीको शाखा कार्यालय बन्द गरेर कर्मचारी सम्पर्कविहीन भएपछि बचतकर्ताहरु आन्दोलित छन् । शिव शिखर सहकारीको धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायतका शाखा कार्यालयले बचतकर्ताको रकम दिन नसकेपछि कार्यालय बन्द गरेका छन् ।
यता देशकै जेठो सहकारी नवजीवन सहकारी शिव शिखरका बचतकर्ताहरु आन्दोलनमा उत्रिएपछि शसकिंत बनेको छ । शिव शिखर सहकारी संस्थाका बचतकर्ताहरु आफ्नो बचत रकम निकाल्न धमाधम सहकारी पुग्न थालेपछि रकम अभाव भएको भन्दै सहकारीले कार्यालय बन्द गरेको छ । शिव शिखरकै प्रभाव नवजीवन सहकारीमा पनि पर्ने होकी भन्ने त्रासमा सञ्चालक देखिएका छन् । लामो समय आफ्ना गतिबिधि सार्वजनिक नगरेको नवजीवन सहकारी संस्थाले एक्कासी मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीको आय व्यय बारे जानकारी दिएको हो ।
अन्य सहकारी संस्था ओरालो लागि रहेको बेला नवजीवन सहकारी संस्था लिमिटेडले भने आफ्ना ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षित रहेको बताएको छ । सहकारीका निवर्तमान अध्यक्ष चक्र बहादुर सिंहले सहकारीले सुरक्षित स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षित रहेकोले ढुक्क रहन आग्रह गरे । सहकारीसँग अहिले नगद १ अर्व रुपैया रहेको बताउदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न उनले आग्रह गरे । धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको १० वटा सेवा केन्द्रहरु, टीकापुर, बासगढी बर्दिया, अत्तरिया, सुख्खड, जोशीपुर, आईबिआरडी, कञ्चनपुर, राजपुर, चौमाला र हसुलिया रहेका छन् ।
तरलता अभाब छैन
२०७९ माघ मसान्तसम्म सहकारीको जम्मा कुल सम्पत्ती रकम ६ अर्ब ३४ करोड ४ लाख ९९ हजार रहेको जनाइएको छ । संस्थाका अनुसार शेयर पुँजी २७ करोड ७५ लाख २७ हजार, शेयर सदस्य संख्या ३१ हजार ५ सय ८९, जगेडा कोष र अन्य कोष गरेर जम्मा ५८ करोड ३५ लाख २७ हजार रकम रहेको छ । बचत तर्फ निक्षेप ४ अर्ब ३० करोड ४४ लाख ४१ हजार, लगानीमा रहेको रकम ३ अर्ब ८८ करोड ८३ लाख ९१ हजार रहेको नवजीवन सहकारी संस्था सञ्चालक समिति अध्यक्ष देव बहादुर बमले जानकारी दिए । यस्तै बाँकी ब्याज रकम १८ करोड ८३ लाख ६० हजार, कर्जा निक्षेप अनुपात ९० दशमलव ३३ प्रतिशत रहेको उनले बताए । नगद तथा बैँक मौज्दात रकम ९२ करोड ६९ लाख ९६ हजार, तरलता प्रतिशत २१ दशमलव ५४ प्रतिशत तथा आम्दानी ३७ करोड ४४ लाख ३७ हजार रहेको संस्थाका अध्यक्ष बमले जानकारी दिए ।
नवजीवन सहकारी संस्था लिमिटेडको खर्च ३३ करोड ३९ लाख ३६ हजार रहेको छ । नाफा नोक्सान ४ करोड ५ लाख १ हजार भएकोमा स्थीर सम्पत्ति १५ करोड ५२ लाख ५३ हजार रकम रहेको उनको भनाई छ । यस्तै नवजीवन सहकारी संस्था लिमिटेडले लघुवित्त कार्यक्रम अन्तरगत ७ सय १ सदस्य संख्या रहेका छन् । १६ लाख ४८ हजार बचत रकम रहेको छ । ४ करोड ४९ लाख ६० हजार ऋण रहेको छ भने १ लाख ११ हजार मुनाफा भएको संस्थाका अध्यक्ष बमले जानकारी दिए । कृषि उपज संकलन उपआयोजना अन्तरगत १ करोड २२ लाख ५ हजारको ४ हजार ८ सय २८ क्वीन्टल धान खरीद स्कट गरेको बताए । संस्थाका अध्यक्ष बमले ३ कार्यकाल सञ्चालक समितिमा बसेको १२ बर्ष र १ बर्ष अध्यक्ष बसेको अवस्थासम्म संस्थामा आर्थिक कारोबारमा केही समस्या नदेखिएको बताए । अरु सहकारी संस्थामा बाहिर सुनिएजस्तो ऋण र ब्याजदरमा कुनै तरलता र अभाब नदेखिएको उनको भनाई छ ।
सहकारी बिरुद्ध नाराबाजी गर्दै शिव शिखरका बचतकर्ता
यता शिव शिखर सहकारी संस्थाको धनगढी कार्यालय बन्द गरेर कर्मचारी सम्पर्क बिहीन भएपछि बचतकर्ताहरु सम्पर्कमा आउन आग्रह गरिरहेका छन् । सहकारीका बिरुद्ध नाराबाजी सहित बिरोधमा उत्रेका बचतकर्ताहरुले केही दिन शान्ती पुर्ण माग राख्ने बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै शिव शिखर सहकारी पिडित संघर्ष समितिले सरकारी निकायबाट आफ्ना माग सम्बोधनका लागी आग्रह गरेको छ ।
समितिका सदस्य लोकेन्द्र लम्सालले अहिले सहकारीमा ढुंगा मुढा गर्ने मनसायमा आफुहरु नभएको बताएका छन् । हामीहरूकै बचत रकमले सहकारी चलेको हो, हामीहरुलाई नै सुबिधा दिएको थियो उनले भने “तर एक्कासी कार्यालय बन्द गर्दै सञ्चालक समिति तथा कर्मचारी सम्पर्क बिहीन भएपछि हामी संघर्षमा उत्रनुपरेको हो, हामी अहिले सहकारी सञ्चालक तथा कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरिरहेका छौँ, हामीलाई कति समयमा रकम फिर्ता गर्न सक्ने हो समय देओस हामी त्यो समय कुर्न तयार छौँ, यसरी सम्पर्क बिहीन भएपछि समाधान हुँदैन ।”
हामी सहकारी सञ्चालन होस भन्ने चाहान्छौँ उनले भने “सहकारीले समय दिए हामी आन्दोलन रोक्न सक्छौँ, होइन यसरी नै सम्पर्क बिहीन हुने हो भने, भोलिको जिम्मा सहकारी सञ्चालकले लिनुपर्छ आन्दोलन उग्र बन्न सक्छ, यदी सहकारी सञ्चालक सम्पर्कमा नआउने हो भने प्रशासनले यसको सबै कागजपत्र लिएर छानबिन गर्नुपर्छ ।”