काठमाडौं– नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार केसीका अनुसार थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा जाँचबुझ गर्न उनलाई निलम्बनमा राखिएको छ ।
शुक्रबार पर्यटन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै महाप्रबन्धक ठाकुरलाई निलम्बित गरेको जनाएको छ।
साथै, उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ।