धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले कार्यालयबाटै राहदानी फाराम भर्ने व्यवस्था गरेको छ ।
राहदानी बनाउन आउने सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा उपलब्ध गराउन कार्यालयमै राहदानी फाराम भर्ने व्यवस्था मिलाएको हो । दैनिक ५० जना सेवाग्राहीलाई राहदानी फाराम भर्न मिल्ने गरि बिहिबारदेखि हेल्प डेस्क स्थापना गरिएको हो ।
जिल्लामा राहदानी लिन आउँदा सेवाग्राहीले भोग्नुपरेको समस्यालाई मध्येनजर गर्दै कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । उनले बिहिबारदेखि कक्ष सञ्चालन भएपनि विभागको वेवसाईटमा समस्या आउँदा लक्ष्य अनुसारको सेवाग्राहीलाई सेवा उपलब्ध गराउन नसकिएको बताए ।
उनले भने –‘डेस्कका लागि आवश्यक जनशक्ति, उपकरणहरु उपलब्ध गराइएको छ । अब विभागको वेवसाईटको समस्या समाधान भएमा पूर्ण सेवा उपलब्ध गराईने छ ।’
यसअघि राहदानी बनाउन आउने सेवाग्राहीले बाहिर फर्म भरेर कार्यालयमा जानुपर्ने थियो । यसले गर्दा सेवाग्राहीले नीजि पसलमा महँगो शुल्क तिर्नुपर्ने बाँध्यता रहेको थियो । कार्यालयभित्र फर्म भर्न लागेपछि सेवाग्राहीले बाहिर तिर्नुपर्ने शुल्कबाट राहात पाउने उनको विश्वास रहेको छ ।