धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा संचालनमा रहेका सामुदायिक विद्यालय संचालनमा सहजता ल्याउन पहल गर्न भन्दै वडा अध्यक्षको ध्यानाकर्षण गराएको छ ।
विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले संयुक्त रुपमा वडा अध्यक्ष माधव रानालाई विद्यालय सञ्चालनमा सहजता ल्याउन छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । धुर्जन्नामा रहेको न्यू कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाको नेतृत्वमा वडालाई सो ध्यानाकर्षण पत्र बुझाईएको हो ।
वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ । विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले वडा शिक्षा समितिलाई क्रियाशिल बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, विद्यालयमा ‘एक कक्षाःएक शिक्षक’को दरबन्दी सिर्जना गरि नीजि स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनुपर्ने लगायतका सुझावहरु रहेका छन् ।
यस्तै, गरी सामुदायिक विद्यालयका बाल कक्षाहरुलाई मन्टेश्वरी माध्यामबाट पढाउने वातावरण सृर्जना गरि बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमो व्यवस्था मिलाईनुपर्ने उल्लेख छ ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकको सक्रियताले मात्र सम्भव नभएको हुँदा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने शिक्षकहरुको भनाई रहेको छ । शिक्षकहरुको समस्याहरु सम्बोधन गर्न नसक्दा गुणस्तर शिक्षा दिन नसकिने न्यू कालिका आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाले बताए । उनले आफ्नो मागहरु पुरा नभए आगामि दिनमा पनि संघर्षका कार्यक्रमहरु जारी रहने बताए ।
वडा अध्यक्ष माधवराज रानाले वडामा रहेका विद्यालयहरुको अवस्था दयनिय रहेको बताए । सो वडामा चार वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । विद्यालयमा दरबन्दी नहुँदा निजी शिक्षकबाट शिक्षा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । शिक्षा क्षेत्रको सुधारका लागि वडाले आफ्नो तर्फबाट पहल गर्ने उनले बताए ।