झलक दवाडी
धनगढी । सुदूरपश्चिम कस्तो छ? सर्वसाधारण नेपालीसँग यो प्रश्नको उत्तर सबैको एउटै हुने गर्छ। सुदूरपश्चिममा भोक छ, अभाव छ, दुःख छन् र तिनै दुःखले सिर्जिएका तमाम समस्या ।
हुन सक्छ, त्यहाँ विकासको अनुभूति गर्न नपाएका मानिस छन्। जहाँ गुणस्तरीय शिक्षा छैन, भरपर्दो स्वास्थ्योपचारको पहुँच छैन। बत्ती नपुगेका बग्रेल्ती गाउँ होलान् र त्यहाँ पुग्ने सहज सडकसमेत नहोला ।
तर के सुदूरपश्चिमको चित्र यत्ति मात्र हो ?
हिमालय भट्टलाई त्यस्तो लाग्दैन। बाहिरबाट बन्द आँखाले देखेजस्तो कुरूप छैन, सुदूरपश्चिम । हिमालयलाई सिङ्गै स्वर्ग आएर बसेजस्तो लाग्छ, सुदूरपश्चिममा।
लामबद्ध पहाड, सुसाइरहने खोला, खोँच र कन्दराहरू। खुला अकासमुनि बुकी मुस्कुराइरहेका पाटन मैदानहरू। कतै झरनाको धुन र चञ्चल जल लहरा । अनि दन्त्य लहर जस्ता मिलेका बस्तीहरू, त्यहाँको जीवनशैली र मानिसका निश्चल अनुहार ।
यस्तो प्रकृतिले दिएको अनुपम सौन्दर्यलाई चटक्कै बिर्सेर सुदूरपश्चिमको कुरूप चित्र निर्माण गर्नु र भाष्यलाई कायम बनाई राख्नु हिमालयलाई जायज लाग्दैन।
दार्चुला जिल्ला महाकाली नगरपालिका जाईझुलका २५ वर्षीय हिमालय भट्ट त्यही सुदूरपश्चिमको मोहक भूगोलले लालायित छन्। काठमाडौँमा पढ्न गएका उनि पढाई छाडेर सुदूरपश्चिमका लेकहरू चढ्छन् , फाँटहरू चहार्छन् । कहिले राता गुराँसको छहारीमा सुस्ताउँछन् त कहिले बीच पाटनमा पल्टिएर अकासमा आँखालाई विलीन बनाइदिन्छन्।
उनलाई यो समय राष्ट्रिय मिडियाले मात्र होइन, सामाजिक सञ्जालमा समेत खोजिन थालेको छ। फेसबुकदेखि युट्युबमा समेत उनका गतिविधिले आँखा तानेका छन्। हिमालय कुनै पर्यटक नपुगेका अनगन्ती स्थानमा पुगेर त्यहाँका दृश्य क्यामेरामा कैद गर्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।
सुन्दर सुदूरपश्चिमका मन लुट्ने उनले खिचेका तस्बिर अहिले चर्चामा छन् । उनले खिचेका सयौँ तस्बिर सयौँ पटक सेयर गरिएका छन्। भिडियोहरू त्योभन्दा बढी पटक हेरिएका छन्।
यो हिमालयको आफ्नै व्यक्तिगत चाहना वा रुचि हो। व्यक्तिगत हुटहुटी र बलजफतीले हिँडेको उनी आफैँ बताउँछन्। उनको यात्राले सिङ्गो पर्यटन प्रवर्द्धनमा पुर्या्एको योगदानबारे सुदूरपश्चिममा प्रदेश सरकार पनि परिचित छ। तर, सहयोग भने पाएका छैनन् । अहिले उनका अनुभव धेरै मानिसका लागि पाठ बन्न थालेका छन्। विभिन्न अवसरमा बोलाएर उनका यात्राबारे सुन्न थालिएको छ। बुझ्न थालिएको छ ।
आमा बाबाको चाहाना एकातिर आफ्नो चाहाना अर्कोतिर भएकोले केही समय परिवारलाई आफूले रोजेको बाटोमा आफै हिडछु भन्न हिमालयलाई अलि कठिन भयो । कठिन नहोस् पनि कसरी छोरा आफ्नो खुट्टामा उभिएर केही राम्रो गरेर खाओस् र दुख नपाओस् भन्ने आमा बाबाको सपना थियो । तर हिमालयले आफ्नो कामको बारेमा आफ्नो परिवारलाई कहिल्यै पनि झुट बोलेनन् । जे गर्न मन छ त्यो कुरा इमानदारीताका साथ परिवारमा भन्ने गरेकाले उनको आफ्नो काम प्रतिको विश्वासलाई परिवारबाट बिस्तारै ुसपोर्टु पाउँदै गए र अहिले हिमालय निर्धक्कले सुदूरपश्चिमको यात्रामा हिडिरहेका छन् । तस्बिर खिचिरहेका छन् ।
एसएलसीपछि उनलाई साथीहरूले पढेको विषय पढ्न मन लागेन। उनले एच ए पढ्न चाहे । तीन वर्षे डिप्लोमा कोर्स सिध्याएर दार्चुला फर्किएका उनी गाउँमै बस्न थाले । उनले प्रकृति र संस्कृतिलाई नजिकबाट बुझ्ने कोसिस गरे । सदरमुकाम खलङ्गा जान्छु भनेर घरदेखि निस्किने अनि मोबाइल अफ गरेर दार्चुलाका कुना कन्दरा अनि पहाडका उचाइमा हराउने उनको बानी बस्यो । प्रकृतिमा खिचेका तस्बिरहरू उनले फेसबुकमा ुभिजिट दार्चुलाु पेजमा पोस्ट गर्न थाले। पेजको नाम धेरैसँग जुधेपछि ुअ हिडन हेवनु अर्थात् लुकेको स्वर्ग थपे। नमर्दै स्वर्गको सपना देख्ने मानिसले लुकेको स्वर्ग नै भनेपछि केही न केही नयाँ र फरक होला भन्ने उत्सुकताका साथ सोचेँ र हिमालयले कैद गरेका दार्चुलाका तस्बिरहरूमा मानिसहरूको आकर्षण बढ्न थाल्यो। लाइक कमेन्ट पनि बढ्दै गए। जसले गर्दा आफ्नो इच्छा प्रति उनी थप हौसिँदै गए। मोबाइलबाट तस्बिर खिचेर राख्ने गरेका उनलाई त्यहीँ ठाउँमा राम्रो क्यामराबाट खिचेर राख्न पाए झन् छिटो प्रवर्द्धन हुन्थ्यो कि भन्ने सधैँ लागिरहन्थ्यो । तर लागेको कुरा पूरा हुन् पनि गरेका काम अनुसारको ुपब्लिसिटीु चाहिन्छ भन्ने लागेर उनले दिन प्रतिदिन फैलिँदै गरेको सामाजिक सालको मद्दत लिए, जुन निर्णयपछि उनलाई वरदान साबित भयो ।
फोनबाटै खिचेर पोस्ट गर्ने उनले सुन्दर सुदूरपश्चिम चिनाउने सपना पूरा गर्न राम्रा तस्बिर चाहिने र ती तस्बिर कैद गर्न राम्रो ुडिएसएलआरु क्यामराको खाँचो भएको भनेर सामाजिक सञ्जालमा पोस्ट गरे । पोस्ट गरेको दुई चार दिनमै उनले लाख २५ हजार सङ्कलन गरे । क्यामेरा किन्न यसबाहेक अरू थप रकम उनलाई स्थानीय तहले सहयोग गर्यो । डिजिटल क्यामराको राम्रो ज्ञान नभएपछि उनले आफूजस्तै नेपाल चिनाउन लागिपरेका बागलुङका सन्दीप शर्मासँग परामर्श लिए ।
क्यामेराले खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न थाले । दाह्री ग्याङ , रुटिन अफ नेपाल बन्दमा पनि उनका सुदूरपश्चिम चिनाउने मनमोहक तस्बिरहरू पोस्ट हुन थाले । उनले खिचेका तस्बिर हेरेरै हजारौँ पर्यटक अपि हिमालमा टल्किएको हिउँ देखि खोला नाला र पहाड नियाल्न पुगेका छन् ।
स्वास्थ्य सहायक पढेर सकाएपछिको खाली समयमा काठमाडौँ बस्दा उनले त्यहाँ नौलो कुरा अनुभव गर्न पाए । काठमाडौँ नजिकै रहेको कालिन्चोक गएर फोटो खिचाउँदा उनले आफ्नै गृह जिल्ला दार्चुलाका विभिन्न स्थानमा पर्ने हिउँ सम्झिए । हिउँ नै हिउँले ढाक्ने आफ्नो ठाउँलाई किन प्रवर्द्धन नगर्ने त भनेर उनले मनमनै अठोट लिए र दार्चुला फर्किए ।
अब उनको सोच सुदूरपश्चिमका अरू जिल्ला सबै घुमेर सक्ने स्वास्थ्य क्षेत्रमा अब थप केही गर्ने उनको सोचाई छैन । स्थानीय निकाय पनि आजकल उनका काममा थोरै नै भए पनि सहयोग गर्नमा तत्पर छन् । सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न विभिन्न पदमार्गको जानकारी दिन सामाजिक सञ्जालमा प्रचार देखि पर्यटकीय गन्तव्यमा चिन्हहरू राख्ने, साना साना पम्प्लेट मार्फत प्रवर्द्धन गर्ने, जिल्लाको विमानस्थल सुधार गर्ने र स्थायी उडानका लागि पहल गर्ने लगायत थुप्रै उपायहरू छन् । तर एक्ला उनलाई सो काम पुरा गर्न कठिन छ । यसमा स्थानीय निकायको भूमिका अपरिहार्य रहन्छ ।