मन्त्री रावलद्वारा प्रगति विवरण सार्वजनिक

धनगढी। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रगति विवरण सार्वजनिक गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सभामा चार वर्षभन्दा बढी समय प्रतिपक्षको भूमिका निर्वाह गरेका रावलले स्थानीय तहको मुखमै चैत २५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नौ महिनाको अवधिमा केही राम्रो कामको आधार तयार पार्ने कार्य भएको रावलको भनाइ थियो ।
उनले आफ्नो कार्यकालमा आशातित रुपमा काम भएको दाबी गरे । मन्त्री रावलले प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण, मन्त्रालयमा सिसी क्यामेरा जडान, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि विभिन्न स्थानमा कार्यालय स्थापनालगायतका कामहरु भएको बताए ।
उनले आफ्नो कार्यकालमा पारित तथा संशोधन भएका विधेयकका विषयमा पनि जानकारी दिए । सुदूरपश्चिम कांग्रेस संसदीय दलका निवर्तमान नेता रावल अघिल्लो वर्ष चैत्र २८ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा थियो ।