धनगढी । धनगढीमा माघे संक्रान्तिको अवसरमा माघे मेला लाग्ने भएको छ । उपमहानगरपालिका वडा नम्बर १९ स्थित श्री फुलबारी आधारभुत विद्यालयको प्राङगणमा मेला लाग्ने भएको छ । ''शिक्षा,स्वास्थ्य, संचार विकासके अभियान, कृषि, सांस्कृति ओ पर्यटन हमार पहिचान " भन्ने मुल नाराका साथ माघ १ गते देखी ५ गते सम्म मेला लाग्ने आयोजक थारु संस्कृतिक तिहुवार मञ्चका अध्यक्ष पर्वत चौधरीले बताए ।
माघे संक्रान्तिको अवसरमा हरेक बर्ष आयोजना हुने माघे मेला यस बर्ष पनि आयोजना गरिन लागेको अध्यक्ष चौधरीले बताए । उनले मेलामा सांस्कृतिक कार्यक्रम पर्दशनी,भलिबल, पेनाल्टि सुट आउट लगायत विभिन्न खेलहरु खेलाइने जानकारी दिए । उनले मेलामा स्थानिय उत्पादनलाई बजारीकरणका लागि प्राथमिकता दिइने बताए ।
आयोजक समितिले आज मेला संचालनका विषयमा समाजसेवी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवाला पक्ष संग छलफल समेत गरेको छ । छलफलमा उपस्थित सबैले आ-आफ्नो ठाउँबाट मेला सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुझाव समेत दिएको आयोजकले जनाएको छ ।
मेला आयोजक समितिले यहि पुस २७ गते देखि स्टल बुकिङ गर्नका लागि व्यापारीलाई अनुरोध गरेको छ । साथै क्लबहरुलाइ भलिबल, पेनाल्टि सुट आउट र सांस्कृतीक कार्यक्रमका लागि टिम दर्ता गर्न समेत अनुरोध गरेको छ ।