सहकारीबाट नगद चोरी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको छ ।
मंगलबार राती सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको हो ।
सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समुहले नगद चोरी गरेको सहकारीका शाखा सञ्चालक कुम्भ गिरीले जानकारी दिए ।
‘लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको छ’ उनले भने -‘सटर फोडेर एक व्यक्ति भित्र छिरेको छ भने एक जना बाहिर मोटरसाईकलमा रोकिएको सिसिटिभी फुटेजमा देखिएको छ ।’ उनले सटर फोडेपछि विद्युत बन्द गरिएको बताए ।
‘चोरी गर्ने व्यक्ति मास्क लगाएर भित्र छिरेको हुँदा पहिचान हुन सकेको छैन’ उनले भने -‘ चोरी गर्ने व्यक्तिको खोजतलासीका लागि प्रहरीमा जाहेरी दिएका छौं ।’
इलाका प्रहरी कार्यालय बहुलियाका इन्चार्ज रमेश शाहीले चोरी गर्ने मान्छेको खोजी कार्य भईरहेको बताए । उनले भने -‘मास्क लगाएर भित्र छिरेको देखिएको छ । त्यसपछिको कुनै नहुँदा पहिचान गर्ने काम तिव्र बनाइएको छ ।’