आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ ।’
ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महत भन्छन्, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुन्छ ।’
बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।
आफूहरुको प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने भएको भन्दै कांग्रेस प्रवक्ता डा. महत भने , ‘सर्वसम्मत भए राम्रो, नभए लोकतान्त्रिक प्रक्रिया छँदैछ ।’