दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

दार्चुला, ७ असोज। दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जनाले गाडीबाट हाम फालेर ज्यान जोगाएका छन् ।
दुर्घटनामा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट मकरीगाड तर्फ जाँदै गरेकोे म १ ज २३३ नम्बरको बोलेरो जिप अपिहिमाल गाउँपालिका–५ तिम्ला भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिपमा ५ जना सवार रहेको बताइएको छ । हाम फालेका मध्ये दुई जना समान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन् ।
जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरी निरीक्षक शाहीले बताए । जिप चालक मार्मा गाउँपालिका ५ का ३० बर्षीय डम्मरसिंह महरा फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।