कोभिड–१९ पछिको गंगादशहरा मेला : एकैदिन पाँच लाख बढीले गरे बेहडाबाबाको दर्शन

भीम चौधरी
धनगढी, २७ जेठ/कोभिड–१९ का कारण दुई बर्षसम्म लाग्न नसकेको गंगादशहरा मेला यस वर्ष लागेको छ । हरेक वर्ष गंगादशहराका दिन लाग्दै आएको मेला कोभिड–१९ का कारण दुई बर्ष लाग्न सकेको थिएन ।
सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै धरोहरको रुपमा परिचित रहेको बेहडाबाबा मन्दिर धनगढी उपमहानगरपालिका–१६, रामपुरमा रहेको छ । दशहराबाट सुरु भएको मेला तीन दिनसम्म चल्ने जनाइएको छ । बुधबार राती १२ बजेबाट दर्शन सुरु भएको पूजा तथा दर्शन शनिबारसम्म चल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । गंगादशहराका दिन मात्रै पाँच झण्डै पाँच लाख भक्तजनले बेहेडाबाबाको दर्शन गरेको अध्यक्ष पदमराज जोशीले बताए । बुधबार राती १२ बजेदेखि बिहीबार दिउँसोसम्म लाईन लागेर दुई लाख बढीले र लाईन नलागेर तीन लाख भक्तजनले दर्शन गरेको अध्यक्ष जोशीले बताए ।
‘बेहडाबाबा मन्दिरमा वर्षभर नै नित्य पूजा हुने गर्छ’ अध्यक्ष जोशीले भने, ‘सोमबार र शनिबार उल्लेख संख्यामा भक्तजनको उपस्थिति हुने गर्छ । गंगादशहरा, महाशिवरात्री, माघे संक्रान्ति, दशैं र चैते दशैंमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहन्छ ।’
यस्तो छ जनविश्वास
यो मन्दिर रामपुर गाउँको जंगल किनारमा अवस्थित रहेको छ । यसको इतिहास निकै पुरानो मानिन्छ । यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । खासगरी पुत्रलाभदेखि संकटमोचन गर्ने शक्ति बेहडाबाबा रहेको विश्वासका साथ प्रत्येक वर्ष गंगा दशहरा मेलामा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ ।
सुदूरपश्चिमका मात्र नभएर गंगादशहरामा मेला भर्न हरेक वर्ष भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालुहरू आउने गर्छन ।
यसरी फेला प¥यो शिवलिंग
नयाँ मुलुक भनेर चिनिएको कैलाली, कञ्चनपुर, बाँके र बर्दियाको भूभाग उहिले भारतीयहरूको दबदबा थियो । जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाएबापत प्राप्त भएकाले सो क्षेत्रमा भारतीयहरू आफ्नो हक जमाउन खोज्थे । त्यस क्षेत्रमा घना जंगल भएकाले मानिसहरूको त्यति बसोबास थिएन ।
नेपाललाई इस्ट इन्डिया कम्पनीले बक्सिसको रुपमा सो क्षेत्र दिएपछि नेपाली मूलका आदिवासीहरूको बसोबास सुरु भएको बताइन्छ ।
परापूर्वकालमा त्यहाँ शिवलिंग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । भारतीयहरू सो क्षेत्रमा घुम्न आएका बेला शिवलिंग फेला पारेका थिए ।
भारतीयहरू शिवलिंगलाई उखेल्न धेरै पटक प्रयास गरे । तर, सफल हुन नसकेको बताइन्छ । उखेल्न नसकेपछि भारतीयहरूले फलामको घनले हिर्काएर फुटाउन खोजेका थिए भनिन्छ ।
घनले हिर्काएको चिनो अहिले पनि शिवलिंगको माथिल्लो भागमा देख्न सकिन्छ । धेरै प्रयास गर्दा समेत शिव लिंग उखेलेर भारत लैजान नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ । सुरुमा सानो रुपमा देखिएको शिव लिंगको आकार बढ्दै गएको छ । भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘सन् १९५० मा कान्हा नामका भारतीय युवकले पहिलो पटक शिव लिंगलाई देखे । उनले शिव लिंगलाई उखालेर आफ्नो घर लैजान खोजे । धेरै प्रयास गर्दा उखेल्न नसकेपछि रिसले उनले बञ्चरोले शिव लिंगमा प्रहार गरे । त्यसपछि शिवलिंग जमिनमा विलिन भयो । बिस्तारै श्रद्धालुको शिवलिंगप्रति आस्था बढ्दै गयो र शिव लिंग बाहिर आउँदै गयो ।’ शिव लिंगको उचाइ अहिले करिब सात फिट छ ।
श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन ।
तालले बढाएको छ बेहेडाबाबा धामको शोभा
बेहडाबाबा मन्दिरको ठीक पछाडि रामपुर गाउँको पश्चिमतर्फ रहेको बेहडाबाबा ताल छ । २० हेक्टर क्षेत्रफलमा फैलिएको ताल घनाजंगलले घेरिएको छ । जंगलको बीचमा रहेको तालको मध्य भागमा गंगा माताको मन्दिर छ । यसले तालको सुन्दरता अझ बढाएको छ ।
कमलका पातले छोपिएको तालमा जताततै कमलको फूल सेताम्मे देखिन्छन्न । तालको छेउमा राखेको डुंगा चढेर कमलका फूलसँग खेल्दै गंगा माताको दर्शन गर्न सकिन्छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र सो क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा बेहडाबाबा (महादेवा ताल) पर्ने गरेको छ । केही वर्षअघिसम्म यहाँ माछापालन हुने गरेको थियो । पर्यटकीय सम्भावना बोकेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको तालमा माछापालन गर्दा नकारात्मक प्रभाव पर्न थालेपछि बि.स. २०७० देखि माछापालन बन्द गरिएको छ ।
यसरी पुग्ने बेहडाबाबा
धनगढी सदरमुकामबाट करिब १० किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम राजमार्गको चौमालाबाट करिब ५ किलोमिटर दक्षिणमा बेहडाबाबा मन्दिर छ ।
धनगढीबाट बेहडाबाबा मन्दिर जाँदा बाटोमा दुईवटा नदी पर्छ । खुटिया नदीमा पक्की पुल बनेको छ भने शिव गंगा नदीमा पुल नहुँदा श्रद्धालुहरूलाई मन्दिरसम्म पुग्न असहज छ ।
मन्दिर पुग्न करिब दुई किलोमिटर ग्राभेल र अरू कालोपत्रे सडक छ । शिव गंगा नदी तरेपछि करिब दुई किलोमिटर कच्ची सडक भएर त्यहाँ पुग्न सकिन्छ ।