लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

काठमाडौं,२४जेठ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ। विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो।
विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ। प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइएको लोसपाले जनाएको छ।
लोसपाले संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने, मधेस आन्दोलन–थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्ने, नेपालमा विभिन्न उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी, महिला, मुस्लिमलगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय निकायm प्रदेशसभा र संघीय संसदमा प्रतिनिधितवको व्यवस्था गर्ने माग गरिएको छ।
यस्तै, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्नेलगायतका माग राखिएको छ।
प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लोसपा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतका नेता बालुवाटार पुगेका थिए।