चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

काठमाडौं, ४ बैशाख/स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ ।
आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीय तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ ।
आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको जनाएका छन ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ । वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन । अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ ।