फोनिजको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्जमा चौधरी निर्विरोध निर्वाचित

धनगढी, ९ चैत/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्जमा कैलालीका पत्रकार भिम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
चितवनको सौराहमा हिजो सम्पन्न फोनिजको सातौं महाधिवेशनबाट पत्रकार भिम चौधरी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्जमा निर्विरोध निर्वाचित भएका हुन् । चौधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको निवर्तमान (संस्थापक) अध्यक्ष हुन् । चौधरी फोनिज कैलालीको सचिव पदमा रहेर समेत काम गरिसकेका छन् । करिब दुई दशकदेखि पत्रकारितामा संक्रिय चौधरी जनता टेलिभिजनको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख तथा अत्तरियाबाट प्रकाशित अत्तरिया खबर दैनिकको प्रधान सम्पादक समेत हुन् । चौधरी नेपालय पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्ष तथा संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेश समितिको सचिव पनि हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा गजुरधन राई निर्विरोध चयन भएका छन ।
समितिको वरिष्ठ उपाध्यक्षमा कैलालीका लक्की चौधरी, उपाध्यक्ष खुलामा अमरध्वज लामा, मिरा राज भण्डारी, जगत दोङ (संस्थागत), सरु राना (महिला), कमन देवान (अल्पसंख्यक), टेकबहादुर थामी (अल्पसंख्यक) र महासचिवमा मिलन लिम्बु निर्विरोध चयन भएका छन् । सचिव लगायत विभिन्न अन्य पदमा चुवानी प्रक्रियाबाट चयन भएका छन् ।
फोनिजमा देशभरका ७० जिल्ला शाखा, ७ प्रदेश समिति र ८ वटा वैदेशिक शाखा रहेका छन । करिब पाँच हजार आदिवासी जनजाति पत्रकार आवद्ध रहेका छन् भने सातौं महाधिवेशनमा ४२४ जना प्रतिनिधिहरुले भाग लिएका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को रूपमा २०५६ सालमा स्थापना भएको थियो । बि.स. २०५७ साल चैत २७ गते काठमाण्डौंमा सम्पन्न चौथो महाधिवेशनबाट अनिज फोजिनमा रुपान्तरण भएको थियो ।
फोनिजमा किरात राई पत्रकार संघ, तमू (गुरूङ) सञ्चारकर्मी संघ, तामाङ पत्रकार संघ, थारू पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, नेवा ः पत्रकार राष्ट्रिय दबु, लिम्बू पत्रकार संघ र शेर्पा सञ्चार समूह नेपाल पत्रकार संघ आवद्ध रहेका छन् ।
फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको महाधिवेशनको उदघाटन लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गरेका थिए