महाकालीको तटबन्ध निर्माणमा ढिलाइ,६८ प्रतिशत मात्रै प्रगति, तीन वर्ष म्याद थप्ने तयारी

पदम बडाल दार्चुला, ६ चैत | महाकाली नदीबाट दार्चुला सदरमुकाम खलंगालाई जोगाउन पाँच वर्षअघि निर्माण थालिएको तटबन्ध समयमै नसकिने भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने समयावधि चार महिना बाँकी रहँदा ६८ प्रतिशत काम मात्रै भएको छ । ३ साउन ०७० मा महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा बगाएको थियो । त्यसपछि महाकाली नदीको पूर्वीकिनारमा सातदेखि १० मिटर उचाइको तटबन्ध निर्माण सुरु गरिएको हो । पञ्चवर्षीय गुरुयोजना (२०७०/७१–२०७४/७५) अन्तर्गत निर्माण भइरहेको तटबन्धको काम तोकिएको समयमा नसकिने देखिएको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख ईन्जिनियर सुशीलचन्द्र देवकोटाले बताए । ‘तालिकाअनुसार काम हुन सकेको छैन, तर धेरै ढिलो पनि भएको छैन,’ उनले भने । तीन वर्ष म्याद थप्ने तयारी आयोजनाका अनुसार सदरमुकाम खलंगाको चार दशमलव ५५ किलोमिटर लामो तटबन्धको १७ प्याकेजमा काम भइरहेको छ । प्याकेज नं. १ देखि ६ सम्म तथा ९ र १२ को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै, १० देखि १५ तथा ७ र ८ नं. प्याकेजको काम भइरहेको छ भने १६ र १७ को ठेक्का प्रक्रिया अघि बढाइएको छ । फागुन मसान्तसम्म ६८ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । बाँकी काम आगामी असार मसान्तसम्म सकिने अवस्थामा नरहेको कार्यालय प्रमुख देवकोटाले बताए । ‘तोकिएको समयमा तटबन्ध निर्माण सम्पन्न हुने देखिएन, त्यसैले तीन वर्ष म्याद थप्ने प्रक्रिया अगाडि बढाएका छौँ,’ उनले भने । ............तीन अर्ब लागत........... योे आयोजना निर्माण गर्न तीन अर्ब पाँच करोड ५७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसअनुसार पहिलो चरणमा एक अर्ब ५९ करोड निकासा भएको थियो । त्यसमध्ये एक अर्ब ५१ करोड ४२ लाख २३ हजार २४ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । अब म्याद थपिने तीन वर्षमा दोस्रो चरणअन्तर्गत काम हुनेछ । पहिलो वर्ष खासै काम हुन सकेको थिएन । आयोजनाका अनुसार आ.व. ०७०/७१ मा २० करोड ९४ लाख ७१ हजार खर्च भएको थियो । त्यस्तै ०७१/७२ मा २० करोड ४६ लाख ३८ हजार छ सय ४०, ०७२/७३ मा ४२ करोड ७७ लाख ९० हजार चार सय १४ र ०७३/७४ मा ४५ करोड ६५ लाख १२ हजार एक सय ३२ रुपैयाँ खर्च भयो । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा २१ करोड ५८ लाख १० हजार आठ सय ३७ रुपैयाँ खर्च भइसकेको कार्यालय प्रमुख देवकोटाले बताए ।