बस्तीमा जोखिम पुग्ने गरी ढुंगा–बालुवा उत्खनन

दिलबहादुर चौधरी/ टीकापुर, ६ चैत | कैलालीको टीकापुर नगरपालिका–८ स्थित कर्णाली नदीबाट मनोमानी रूपमा ढुंगा र बालुवा उत्खनन गर्दा कर्णाली नदीमा निर्माणाधीन ड्याम जोखिममा परेको छ । जथाभावी ढुंगा–बालुवा निकाल्दा नदीकिनारमा ठुल्ठूला खाडल परेका छन् । जसका कारण कर्णाली नदीलाई नियन्त्रण गरी बस्तीलाई सुरक्षित गर्न बनाइएका निर्माणाधीन ड्यामसमेत जोखिममा परेका छन् । यस क्षेत्रबाट दैनिक सयौँको संख्यामा ट्र्याक्टर र जेसिबीको प्रयोग गरी ढुंगा तथा बालुवा निकाल्ने गरिएको छ । जथाभावी ढुंगाबालुवा निकाल्दा टीकापुर–८ को श्रीलंका गाउँसहित नदीपारि बर्दियाका केही गाउँमा समेत खतरा बढेको स्थानीय राम बुढाले बताए । कर्णाली नदीको सत्ती पुलपारि नदी नियन्त्रणका लागि यसै आर्थिक वर्षमा के एस कन्स्ट्रक्सनले १६ सय मिटर लम्बाइको ड्याम निर्माण गरिरहेकोे छ । ड्याम निर्माणको काम भइरहे पनि बर्दियाको राजापुर नगरपालिका–४ को लथुवा सामुदायिक वन समूहले आफूअनुकूल ड्यामछेउबाट बालुवाढुंगा निकाल्ने काम रोकेको छैन । गाउँबस्तीको सुरक्षाका लागि निर्माण गरिएको ड्यामको समेत बेवास्ता गर्दै वन समूहले ढुंगाबालुवा निकाल्नु गलत भएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । यस विषयमा आफूले नगरपालिकालाई जानकारी गराए पनि नियन्त्रणको पहल नभएको उनको भनाइ छ । –सडक निर्माण गर्न जथाभावी उत्खनन.......... बर्दियाको राजापुर नगरपालिका–४ ले आफ्नो वडाभित्रका सडक विस्तार गर्न आपसी समझदारीमा लथुवा वन क्षेत्रबाट ढुंगाबालुवा निकालेको वन समूहका अध्यक्ष मोतीराम चौधरीले बताए । आफ्नो क्षेत्रबाट ढुंगाबालुवा निकाल्दा अर्को जिल्लावासीले आपत्ति जनाउन नमिल्ने उनको भनाइ छ । नदीमा बनेको भौतिक संरचनाको ५ सय मिटर नजिकबाट कुनै पनि नदीजन्य वस्तु उत्खनन गर्न पाइँदैन । तर, नियमको कुनै पर्वाह नगरी ठेकेदारसँगको मिलेमतोमा लथुवा वन समूहले आफूखुसी ढुंगाबालुवा उत्खनन गरिरहेको वडाध्यक्ष ठकुल्लाले बताए । ........नयाँ पत्रिकाबाट