बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पदमराज जोशी

धनगढी, २ माघ/धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पदमराज जोशी चयन भएका छन् ।
समितिको हिजो सम्पन्न साधारण सभाबाट जोशीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा रुपबहादुर खाती, सचिवमा बिरेन्द्र चन्द, सहसचिवमा रामबहादुर थापा र कोषाध्यक्षमा रामबहादुर शाही चयन भएका छन् ।
यस्तै समितिको सदस्यमा भरत चन्द, ठक्कर बहादुर बोगटी, रणबहादुर थापा, भोजराज राना, कृष्णचन्द राना र चन्द्रदेव बम चयन भएका छन् ।
साधारण सभाको उद्घाटन समारोह धनगढी उपमहानगरपालिकाका नगर प्रमु नृपबहादुर वडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर हो । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित यो मन्दिर सुदूरपश्चिमको मात्रै होइन देशकै धरोहर हो ।
यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । खासगरी पुत्रलाभदेखि संकटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वासका साथ प्रत्येक वर्ष गंगा दशहरा मेला लाग्ने गर्दछ ।
मेला भर्न हरेक वर्ष भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालुहरू आउने गर्छन् । उनीहरूले ‘बेहडाबाबा सच्चे है । मेरी मनोकामनाए पूर्ण हुई,’ लखेको प्रशस्त भेटिन्छ ।
यो मन्दिर रामपुर गाउँको जंगल किनारमा छ । यसको इतिहास निकै पुरानो मानिन्छ ।
बेहडाबाबा मन्दिर
नयाँ मुलुक भनेर चिनिएको कैलाली, कञ्चनपुर, बाँके र बर्दियाको भूभाग उहिले भारतीयहरूको दबदबा थियो । जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाएबापत प्राप्त भएकाले सो क्षेत्रमा भारतीयहरू आफ्नो हक जमाउन खोज्थे । त्यस क्षेत्रमा घना जंगल भएकाले मानिसहरूको त्यति बसोबास थिएन । नेपाललाई इस्ट इन्डिया कम्पनीले बक्सिसको रुपमा सो क्षेत्र दिएपछि नेपाली मूलका आदिवासीहरूको बसोबास सुरु भएको बताइन्छ ।
परापूर्वकालमा त्यहाँ शिवलिंग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । भारतीयहरू सो क्षेत्रमा घुम्न आएका बेला शिवलिंग फेला पारेका थिए ।
भारतीयहरू शिवलिंगलाई उखेल्न धेरै पटक प्रयास गरे तर सफल हुन नसकेको बताइन्छ । उखेल्न नसकेपछि भारतीयहरूले फलामको घनले हिर्काएर फुटाउन खोजेका थिए भनिन्छ ।
घनले हिर्काएको चिनो अहिले पनि शिवलिंगको माथिल्लो भागमा देख्न सकिन्छ । धेरै प्रयास गर्दा समेत शिव लिंग उखेलेर भारत लैजान नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ । सुरुमा सानो रुपमा देखिएको शिव लिंगको आकार बढ्दै गएको छ ।
बेहडाबाबा मन्दिरको शिवलिंग
भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘सन् १९५० मा कान्हा नामका भारतीय युवकले पहिलो पल्ट शिव लिंगलाई देखे । उनले शिव लिंगलाई उखालेर आफ्नो घर लैजान खोजे । धेरै प्रयास गर्दा उखेल्न नसकेपछि रिसले उनले बञ्चरोले शिव लिंगमा प्रहार गरे । त्यसपछि शिवलिंग जमिनमा विलिन भयो । बिस्तारै श्रद्धालुको शिवलिंगप्रति आस्था बढ्दै गयो र शिव लिंग बाहिर आउँदै गयो ।’ शिव लिंगको उचाइ अहिले करिब सात फिट छ ।
श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन ।