न्यायिक समिति कार्य सम्पादन सहयोगी श्रोत पुस्तिका विमोचन

धनगढी, १३ मंसिर ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ न्यायिक समिति कार्य सम्पादन सहयोगी श्रोत पुस्तिका विमोचन गरीएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एक कार्यक्रमका बिच धनगढीमा विमोचन गरेका हुन् ।
पुस्तिकाको विमोचन गर्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सहयोगी श्रोत पुस्तिकाले स्थानीय तहका न्यायिक समितिलाई काम गर्न सहयोग पुग्ने बताए । मन्त्री खड्काले स्थानीय सरकारले प्रयाप्त श्रोत, साधन, ज्ञान, जनशक्ति अभावमा सोचेको जस्तो काम गर्न नसकेको बताउँदै स्थानीय तहका सरकार श्रोत, साधन, अधिकारले सक्षम नभएसम्म देशको सर्वाङ्गिण विकास हुन नसक्ने बताए ।
संविधानले स्थानीय सरकारलाई धेरै कुरा दिएपनि जनशक्तिको प्रयाप्त व्यवस्थापन हुन नसक्दा ऐन, कानून कति बनाउने भन्ने कुरा पनि सरकारले सहयोग गर्न नसकेको बताए । प्रदेश सरकारले गर्न सक्नुपथ्यो तर प्रदेश सरकार आफैमा अन्योल भएको अवस्थामा सहयोग गर्न नसकेको बताए । प्रदेश सरकार गठन भएको लामो समयसम्म साधन र श्रोत व्यवस्थापनमा लाग्यौ मन्त्री खड्काले भने, ‘संघीर र स्थानीय सरकारसंग केही अनुभव त थियो हामीसंग त्यो पनि थिएन ।’
कार्यक्रममा बोल्दै कानुनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक० का अध्यक्ष अनिता न्यौपाने ‘थपलिया’ ले नेपालको संविधान ९२०७२० र स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहमा ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको बताउँदै यो नौलो प्रयास भएका कारण न्यायिक समितिको काम, कर्तव्य, अधिकार तथा न्यायिक प्रकृया तथा कार्यविधिको सम्बन्धमा पूर्ण स्पष्टता तथा एक रुपता ल्याउन र विभिन्न जिल्लाहरुमा न्यायिक समितिलाई तालिम दिने क्रममा बारम्बार उठ्ने प्रश्नहरुलाई समेत मध्यनजर गरे सो विषयमा जानकारी गराउँने उदेश्यले प्रश्नोत्तरको रुपमा सरल तथा पाठक उपयोगी श्रोत पुस्तिका प्रकाशित गरेको बताइन् ।
कार्यक्रममा बोल्दै दलित अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमिरेले सहयोगी श्रोत पुस्तिकाले न्यायिक समितिलाई नैतिक उत्तरदायि न्याय कसरी दिनुपर्छ भन्ने विषयलाई सहयोग गर्ने बताइन् । ‘यो पुस्तक अढाई वर्ष लगाएर तयार गरीएको एक महत्वपूर्ण उपलब्धी हो’ उनले भनिन्, ‘यो पुस्तक न्यायिक समितिलाई न्याय सम्पादन गर्न ठूलो सहयोगी बन्छ ।’
अनुगमन तथा मूल्यांकन अधिकृत रक्षा रिसालले सञ्चालन गर्नुभएको कार्यक्रम यु एन वुमन नेपालको सहयोगमा ल्याक, दलित महिला अधिकार मञ्च नेपाल, भिसिडिसी र सम विकास केन्द्र नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
यु एन वुमन नेपालको आर्थिक सहयोगमा प्रदेश नम्बर २ को सर्लाही र सुदूरपश्चिम प्रदेशको कैलाली र डोटीमा सन् २०१९ जुनदेखि महिलाको न्यायमा पहँुच परियोजना सञ्चालन हुदै आएको छ ।