कसले लेख्ने हाम्रा आँटका कथा?


निशा राई/// घडीको सुईले साँझको आठ बजाउनै लागेको थियो। उताबाट आवाज आयो, ‘लिफ्ट दिने?’ योसँगै गललल हाँसो बर्सियो। मैले साइकलको ब्रेक घ्याच्च पारेँ। उतैतिर फर्केर भनिदिएँ, ‘अँ दिने।’ ठिटाहरु अक्क न बक्क परेर चुप लागे। अरे क्या बात! म एउटी ‘साइकलवाली’ ले सहिदगेट बस स्टपमा लस्कर उभिएर जिस्क्याइरहेका एक हुल केटाहरुलाई चुप लगाएँ। ‘साइकलवाली’ जिस्काएर उनीहरु क्षणभरका लागि भए पनि मलाई कमजोर बनाउन चाहन्थे। मैले त्यसो हुन दिइनँ। भर्खर तरेका आफ्नै आँखा चम्किए। मन दंग परेर मलाई भन्यो, ‘यु आर बोल्ड!’ अनि मेरो साइकल घरतिरको बाटो हुइँकियो। आँट अचम्मको चिज हो, मजस्ता छोरी मान्छेका लागि। सुनसान बाटोमा राति एक्लै हिँड्न सक्ने शक्ति दिएको छ मलाई। तीन वर्षअघि एक साँझ नेदरल्याण्ड्सको एम्सटरड्याममा साथीहरुसँग ‘रेड लाइट एरिया’ घुम्दै थिएँ। त्यहाँ संसारभरका यौन व्यवसायी सिसाले घेरिएका कोठाभित्र सजिएर बसेका हुन्छन्। ब्रुनाईकी लियाना रेड लाइट एरियाका अर्धनग्न यौन व्यवसायी हेर्न सबभन्दा उत्साहित देखिन्थी। हुन त हिजाबमा ऊ आफैं पूरै ढाकिएकी थिई। ऊ जोक्स मार्थी, ‘राम्रा केटाहरु चैं छैनन् हाम्रा लागि।’ धर्म र समाजको फरक सिमांकनमा थियौं हामी। मुस्लिम केटीको बोल्ड कुरा सुनेर म छक्क पर्थें। साँच्चिकै आँट गज्जबको कुरा थियो। मजाक नै सही, हिजाबमा पूरै ढाकिएकी ऊ पुरुष यौनकर्मीको ‘डिमान्ड’ गर्दै थिई। आठ वर्षअघि म भारी रुकस्याक बोकेर हुम्लातिर तिर हानिएकी थिएँ। कार्यालयले स्टोरी खोज्न एक्लै पठाएको मलाई। ‘यो छोट्टी यति लाम्मो बाट्मो कहरी एक्लै आई, भ्याई लागेन कसरी, ‘ सिमकोट एयरर्पोटमा भेटिएकी बदमा रोकायाले खस भाषामा भनेकी, ‘यति लामो बाटो कसरी आउन सकेकी यो केटी।’ बदमा दिदी। ‘हाम्मो यत्तो उमेर भैगो ऐलेसम्म काठमाण्डु गया नाई, छोरी मान्छ त एक्लै कसरी आई। हामी त हाम्मा लोग्नया सात मात वडापुडा जादाछौं। न त काँही जादुनँ।’ बदमा दिदी कहिल्यै काठमाडौं गएकी थिइनन्। श्रीमानसँग बाहेक उनी कतै एक्लै जादिनन् रे। फेरि खस भाषामा भन्थिन्, ‘यो छोट्टी यत्तो मुटु गरया भैछ बनपाखामा एक्लै हडन्या।’ बदमा रावतका लागि म एक्लै पहाड घुम्न हिडेंकी आँटिली केटी बनेँ। हिजोसम्म एक्लै यात्रा गर्नुपर्छ भनेर आत्तिएको मेरो मन फुरुंग भयो। आँटले खुसी पनि दिदोँ रहेछ। सिमकोटको मेरो अस्थायी बास बिजय होटल बन्यो। भोलिपल्टै चहारे बदमा रावतको गाँउ। बदमा दिदीका श्रीमान दिउँसै रक्सीले फिटान। सिमकोट बजारको भट्टिमा ‘ऐना हेर्ने’ लत। बदमा दिदीले मजदुरी गरेर कमाएर राखेको पैसा चोरेर तास खेलेर सकाउने अनि पैसा नदिए कुटपिट गर्न खोज्ने। तर, धेरैजसो कुटाइ भेट्नै चैं उनकै श्रीमान। बदमा दिदी ‘श्रीमान कुटी पो हाल्छिन् रे!’ उनकी छिमेकी ल्वादनी रोकायाले भनेकी। ‘रक्सी खाईकन जोई कुड्न्याकन बेस्मारी कुड्न पर्ण्या हो,’ बदमा दिदीले थपिन्। अर्थ चाहिँ रक्सी खाएर श्रीमती कुट्नेलाई बेस्सरी कुट्नुपर्छ रे। मैले सहरकै शिक्षित महिलाहरु श्रीमानको कुटाई सहेर बसेको देखेको छु। बदमा दिदी त कस्ती आँटिली, ‘जड्ँयाहा पोई’ कुट्ने। मान्छे जस्ती आँटिली देउडा गाउन उस्तै खप्पिस्। मैले उनको देउडा भाका रेर्कड गरेँ। झण्डै १८ वर्षअघि साउन पूर्णिमा मेलामा देउडा गाएरै अहिले ‘जाँड खाएर सताउने’ श्रीमान भेटाएकी थिइन् उनले। देउडा खेल्दा एक अर्कालाई सुटुक्क मनपराएर बिहे गर्ने चलन पनि रहेछ धेरैका लागि। खाड्गक गाँउका अधिकांश महिलाले देउडा गाएरै आफैं श्रीमान रोजेका रे!, ल्वादनी रोकायाले भनेकी। मनमनै सोचेँ, हुम्लाका महिला त कत्ति आँटिला। आफ्नो जीवनसाथी आफैं रोज्दा रहेछन्। कुनै जमानामा ब्याचलर पढ्दै गरेकी मेरी साथीले आफूलाई मन परेको केटासँग बिहे गर्छु भन्ने आँट पनि गर्न सकेकी थिइनन्। कस्तो बिडम्बना! सहरका पढेलेखेका केटी अझै पनि प्रेममा छु, कसैलाई प्रेम गर्छु भन्न धक मान्छन्। समाजले पनि प्रेम गरेकी छु भन्ने केटीलाई ‘बिग्रेकी केटी’ को ट्याग लगाइदिन्छन्। हुम्लाका बदमा र ल्वादनीलाई बिग्रेकी महिलाको ट्याग भिर्नुपर्ला भन्ने डर छैन। उनीहरु आफ्नो निर्णय गर्न सक्ने आँटमा मस्त छन्। भलै बिहेले सोचे जस्तो खुसी दिएको छैन, उनीहरुको जीन्दगीमा आत्मविश्वास छ। ल्वादनीले मलाई प्वाक्क सोधिन्, ‘अब कहिले पोईला जान्या?’ मैले आँखा झिम्क्याउँदै भनेँ, ‘पहिला देउडा सिकाउनुस्। अनि जान्छु पोईला।’ हामी गललल हाँस्यौ। दिनभर बदमा जस्तै महिलाका कुरा रेकर्ड गरेर साँझ अस्थायी घर बिजय होटल पुग्थेँ। होटलका मालिक बिजय दाइ मलाई फुरुक्क पार्न भनिरहन्थे,’बैनी तपाईंलाई त पाईलोट बस्ने भिआइपी रुम दिएको।’ हुन त, भिआइपी रुममा रातभर बडेमानका मुसा कुद्थे। म मुसुक्क हाँसेर ‘धन्यवाद दाइ’ भन्दिन्थेँ। मेरो भिआइपी रुमको ठ्याक्कै तल्लो भुइँतला कोठामा बस्थे सानी र ठूली। उनीहरु हुम्लाको तिब्बती सिमानाबाट काम गर्न आएका होटलका कामदार। चल्तीको भट्टि पसलमा गाँउभरका जँड्याहाहरु आधा रातसम्म जम्मा भएर हल्ला गर्थे। भट्टीको ठ्याक्कै अगाडि चुकुल नभएको कोठामा उनीहरु सुत्थे। मलाई उनीहरुको पीर लाग्यो। भोलिपल्टै बिहान भान्छामा आलु काटिरहेकी सानीलाई सोधें, ‘आधारातसम्म जँड्याहाहरु बस्छन्। चुकुल नभएको कोठामा सुत्न डर लाग्दैन?’ सानीले आलु काटिरहेकी चक्कु उचालेर भनिन्, ‘हामो कोठा पोस्न खोज्ने तेस्तो जँड्याहालाई यो चाक्कु तेर्साएर कात्तिलाई भगायो भगायो।’ कोठामा कुद्ने मुसा तह लाउन पनि उनीहरु चक्कु नै चलाउँछन्। भान्छामा साथ दिने चक्कुहरु राती उनीहरुसँगै सिरानमुनि सुत्दा रहेछन्। ‘दिदी आस्ति न मईले अत्रो मुसाको भुँडी चिरेर आन्ध्रा निकाल्देको नि,’ ठूलीले थपिन्। हुम्ली केटीहरु साह्रै तगडा। उमेरमा मभन्दा कान्छा तर कत्ति आँटिला उनीहरु। त्यही आँट सापटी लिएर फर्केँ काठमाडौं। झण्डै दुई वर्षअघि केशरमहलको बाटो हिँड्दै गर्दा जानाजान धक्का दिने एउटा लम्फूलाई ब्यागले कुटी-कुटी भगाएँ मैले पनि। म नाथे एक्ली केटीले खराब नियत भएको केटालाई भगायो। आँटले साहस पनि दिँदो रहेछ। सानी र ठूलीको आँट सम्झन्छु र खुसी हुन्छु। यात्रा क्रममा भेटिएका आँटिला महिलाहरुले नै मलाई आँटिलो बन्न सिकाएको हो। यो आँट कोर्सका किताब घन्टौं पढेर आएको हैन। भुइँचालोपछि बारपाकमा भेटिएकी गममाया उस्तै आँटिली। श्रीमान गुमाएकी, घरबाट निकालिएकी, एक्लै काखे छोरालाई खुसी-खुसी हुर्काइरहेकी उनी। मैले उनको आँटको स्टोरी गरेँ। पछि अर्का एकजना पत्रकारले पनि उनको स्टोरी गरे। सासु-ससुराबाट पीडित, लोग्ने मरेकी बेसहारा पीडित पात्रका रुपमा। मैले देखेको उनको हाँसो, आँट र साहस सबै झुट जस्तो लाग्यो। गममायालाई फोन गरेर सोधेँ, त्यत्रो पीडाको पात्र हुनुहुँदो रहेछ, किन मलाई ढाँट्नुभएको?’ गममायाले कड्किँदै भनिन्, ‘पत्रकारले तपाईंलाई दुःख छ कि, भानेको भन्यै गार्यो। अनि मैले दिक्क लागेर हो भन्दियो।’ गममाया त प्रतिनिधि पात्र। हामीले कति महिलालाई दुखी पात्र बनायौं होला। भुइँचालोमा उनका पति बिते। उनी बाँचिन् र माईतीमै बसेर सानो छोरा हुकाईरहेकी छन्। खै उनको आँटको कुरा गरेको हामीले? कि उनको खुसी र साहसको स्टोरी नै बन्दैन? या हामी महिलालाई पीडित र दुखी पात्र बनाएर उनीहरुको आँसु मात्रै बिकाउन चाहन्छौं? सुदुरपश्चिम छाउपडी क्षेत्र भनेरै हामीले खोक्यौं धेरै। मिडियाले पनि त्यही मात्र देखे। छाउपडी त तपाईं हाम्रो सहरकै घरमा छ, शिक्षित परिवारमै छ। महिनावारी बेला भान्छा छिर्न नदिने वा नछिर्ने हाम्रै घरमा चलन बाँकी छ। समाजलाई चुनौती दिएर छाउगोठ भत्काउने कति जना महिलाका आँटका कुरा लेख्यौं होला हामीले? अहँ त्यो आँट र साहसको कुरा जरुरी ठानेनौं। छाउगोठ भत्काउन लागिरहेका सबै पात्रको आँटको कुरा पनि लेखौं न। साँझ परेपछि छोरी घर नफर्केसम्म सुर्ता गर्ने मेरो ममी। भन्छिन्, ‘जमाना खराब छ, छिटो घर फर्कने गर।’ उसै पनि टोलमा ‘सबभन्दा ढिला घर फर्कने केटी’ भनेर नाम कमाएकी छु। त्यसैपनि फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका वाइनका फोटाका कारण मेरो सोसियल इमेज ‘खराब’ छ। इनबक्समा धेरैले सोध्छन्, ‘वाइनका फोटा पोस्ट नगर्नू नि। अरुले जज गर्छन्।’ वाइनका फोटा हेरेरै मूल्यांकन गर्ने भए गरिरहून्। केटीहरुले वाइन खानु ठूलो कुरा होइन। त्यही बुझाउन र आँट देखाउन पनि पोस्ट गरिरहन्छु। जमाना बदलिँदैछ। आँटकै कुरा गरौं। आँटमै रमाऔं। यो आँट म अँध्यारो रातमा जूनको उज्यालोमा साइकल हुइँक्याउँदा पनि पाउँछु। जूनको उज्यालो नहुने दिन टर्च बाल्छु। जून र टर्चका दुबै उज्यालोले पनि मलाई आँट दिन्छ। त्यही आँटको भरमा यो अँध्यारो सहरमा मेरो साइकल हुँईकिरहन्छ।