काठमाडौँ, २७ फागुन स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ । पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।