धनगढी,१२ जेठ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने जो कसैलाई छुट नभएको बताएका छन् ।
जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् ।
कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलवार सम्बोधन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समिति अध्यक्ष समेत रहेका ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप ल्याउन सकिए मात्र लडाइँ जितिने बताएका छन् । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइँ जितिन्छ, अन्यथा लडाइँ गरिरहनुपर्ने भयो,’ बैठकमा उनले भने, ‘कोरोना खोप आयात पहिलो प्राथमिकता हो ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोगस्वरूप आएका स्वास्थ्य सामग्रीलाई समानुपातिक र यथोचित वितरण गर्न निर्देशन समेत दिए । बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन पनि उनले दिए ।
अध्यादेशले कानूनी प्रबन्ध गरेको र कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउँदै खोप समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।
विगतमा अक्सिजन आपूर्ति सरकारले विमानबाट सिलिन्डर मगाएर समेत उच्च महत्त्व दिएको बताउँदै उनले विभिन्न मित्रराष्ट्रबाट अक्सिजन सिलिन्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्सिजन सिलिन्डरकै व्यवस्था गर्न पनि सरकार लागिपरेको बताएका छन् । राजधानी दैनिकमा खबर छ ।