धनगढी,०८ जेठ । नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले गरेपछि भएको प्रतिनिधिसभा विघटनको निर्णयबाट विपक्षी दलका नेताहरू आक्रोशित बनेका छन् ।
धारा ७६(५) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेका दाबीले विश्वासको मत पाउने आधार नभएको ठहर गर्दै राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्त गरेन । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।
शुक्रवार मध्यराति राष्ट्रपति भण्डारीबाट प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ मंसिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको छ ।
सत्तारुढ नेकपा एमालेका नेता तथा विपक्षी गठबन्धनमा सहभागी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको टिप्पणी गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको टिप्पणी गरेका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद । विघटन, पुनःस्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए ! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला छैनन् । नेतागण ! नअलमलिऊँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको विघटन गत पुस ५ गतेबाट शुरू भएको अलोकतान्त्रिक हर्कतको कडी नै भएको प्रतिक्रिया व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिङमा गत पुस ५ गतेबाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो, त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऊँ, प्रतिवाद गरौं ।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यरातमा राष्ट्रपतिबाट फेरि पनि संविधान च्यात्ने काम भएको टिप्पणी गरे । कोइरालाले ट्विटरमा लेखेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो । राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ । संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापी क्षम्य हुनै सक्दैन ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि निर्वाचनको मिति घोषणा कोरोना महामारीमा जनतालाई निर्मम उपहार भएको टिप्पणी गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
कांग्रेस नेता तथा पूर्व मन्त्री रमेश लेखकले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’