धनगढी,१३ चैत। धनगढी उप महानगरपालिका १४ फूलवारी स्थित कल्गी बचत तथा ऋण सहकारी संस्थाको निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । सुदुरपश्चिम प्रदेश बिधायन सभा सभापति नेपालु चौधरीले उक्त सहकारीको भवनको शिलान्यास गरे । बिधायन सभा सभापति चौधरीले सहकारी संस्था लिमिटेडको भवन शुक्रवार शिलान्यास गर्दै फूलवारीको आर्थिक समृद्धिका लागि सहकारीले विभिन्न काम गरिरहेको बताएका छन् ।
सहकारीको आफ्नै आन्तरिक रकमबाट किनिएको जग्गामा प्रदेशको भौतिक पूर्वाधार कोषबाट आएको रु ३५ लाख बजेटको भवन निर्माण गर्न लागिएको सहकारीका अध्यक्ष रामचन्द्र चौधरीले बताए । २०६९ सालदेखि सञ्चालनमा आएको कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ७ सय बढी शेयर सदस्य रहेका छन् । उक्त शिलान्यास कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक माधव जोशी ,धनगढी उप महानगरपालिका १४ का वडा अध्यक्ष रामबजारी थारु लगायतको उपस्थिति रहेको थियो।
साथै संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐक्षिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचत लगायतका सेवा रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको यस सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताएका छन् ।