काठमाडौं,१३ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।
प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए ।
वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन ।