पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् । यो पछिल्लो ६५ वर्ष वा त्यस आसपासमा उत्पादन गरिएको प्लाष्टिकको मात्रा हो र यसको आधा पछिल्लो १३ वर्षमा उत्पादन भएको हो । यो प्लाष्टिकको मात्रा अमेरिकाको न्युयोर्कमा रहेको एम्पायर स्टेट भवन जस्तै २५ हजार भवनको तौल बराबर वा एक अर्ब हात्तीको तौल बराबर रहने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । प्लाष्टिकका सामान मध्ये प्याकेजिङकका लागि प्रयोग गरिने प्लाष्टिक सामान बढी चिन्ताको विषय बनेको छ । अहिलेसम्म उत्पादन भएको प्लाष्टिक मध्ये ७० प्रतिशत भन्दा बढी फोहोरको रुपमा रहेको छ । प्लाष्टिकका कारण समुद्र कुरुप बन्दै गएको र त्यसले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको अनुसन्धानकर्ताको भनाई छ । अहिले पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्ने तर्फ उन्मुख रहेको र समयमै प्लाष्टिक समस्या समाधानका लागि ध्यान नदिएमा यसले गम्भीर अवस्था निम्त्याउने अनुसन्धानमा संलग्न डा. रोनाल्ड गेयरले बताउनुभयो । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बार्राका अनुसन्धानकर्ताले तयार पारेका अनुसन्धान प्रतिवेदनमा प्लाष्टिकका केही प्रकारका प्लाष्टिकको प्रयोग पूर्ण प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । अहिलेसम्म ९ प्रतिशत प्लाष्टिक मात्रै फेरि प्रयोग गरिएको छ । प्लाष्टिक उप्पादनको अहिलेकै दर कायम रहने हो भने स्न २०५० सम्ममा पृथ्वीमा प्लाष्टिकको मात्रा १२ अर्ब टन पुग्ने अनुमान गरिएको छ ।