अब मोबाइलबाटै प्राथमिक उपचार

काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।‘घर–घरमा प्राथमिक उपचारक’ भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो । आफ्नो फेसबुक पेजमार्फत् एप्लिकेशन सेयर गरेर शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले भन्नुभयो, ‘समय अनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षति कम गराउन गरेको कार्य प्रशंसनीय छ । उहाँले रेडक्रसले कुनै पनि विपद्का समयमा घटनास्थलमै आकस्मिक सेवा दिने गरेको पनि बताउनुभयो । अर्का प्रमुख अतिथि हरिवंश आचार्यले मानवीय सेवा क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउनुभयो । अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत सबैको साथमा पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको छ । रेडक्रस अभियानको अर्काे महत्वपूर्ण कार्य प्राथमिक उपचार मोबाइल एप्लिकेशन भएको आचार्यले बताउनुभयो । जनआन्दोलन होस् वा विपद् जुनसुकै बेला घाइते वा विरामीले औषधी उपचार नपाउने बेलासम्म प्राथमिक उपचारमा तालिमप्राप्त स्वयम् सेवकहरु पुग्ने गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताउनुभयो । जहाँ घटना हुन्छ त्यहाँ तत्कालै प्राथमिक उपचार सेवा पुर्याउन सकिने मोबाइल एप्स बन्नु अत्यन्तै खुशीको कुरा भएको भन्दै थापाले एप्सले मानव जीवन बचाउने कार्यमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अतिथि तथा अन्य महानुभावहरुलाई स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले यो एप्लिकेशन आकस्मिक अवस्थामा जीवन बचाउन तथा प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि लिला मुलुकुलाले नेपालमा अहिले सबैको हातहातमा स्मार्ट फोन भएकाले सबैले यो एप्लिकेशन डाउनलोड गरी यसमा भएका ज्ञान र सीपबाट फाइदा लिन सक्नुहुन्छ । सार्वजनिक कार्यक्रममा रेडक्रसका विभिन्न देशका प्रतिनिधिहरु, नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारी तथा सदस्य, नेपाल रेडक्रसका कर्मचारीहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।