प्रदेश प्रमुख र प्रदेश राजधानी तीन दिन भित्रै तोकिन्छ : प्रधानमन्त्री

गोदावरी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोकिने बताउनुभएको छ । कैलालीको गोदावरीमा आज बाह्रराशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताउनु भएको हो । दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको बताउदै देउवाले अब दलहको सहमती नकुरे तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताउनु भयो । संसद गठनको प्रकृया बाँकी रहेकाले प्रधानमन्त्रीबाट आफूलाई राजीनामा दिन समस्या भएको प्रधानमन्त्री देउवाले बताउनु भयो । राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरुले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरणको कुरा गर्नुको अर्थ नभएको बताउनुभयो । उहाँले अबको प्रधानमन्त्रीको टुङ्गोलगाउन बा गठबन्धनले नसकोे उहाले बताउनुभयो । राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने भएकाले त्यो अवधिसम्म आफ्नो नेतृत्वको सरकार कायम रहने उहाको भनाई छ । सोही कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद नारदमुनि रानाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गर्नुभयो । उहाँले अब देशले सम्बृद्धि चाहेकाले बाम गठबन्धनको सरकारले त्यो पुरा गर्ने बताउनुभयो । गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले गुरुयोजना बनाएर यस क्षेत्रको प्रमुख धार्मिक पर्यटकिय स्थल गोदावरीको विकास गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भएको थियो । माघे संक्रान्तिको अवसरमा भोलिदेखि सुरु हुने मकर मेलामा मुख्य आर्कषणका रुपमा रहेको श्रीयन्त्रलाई विशेष सजावट गरिएको छ । श्रीयन्त्रमा १२ राशी र ९ ग्रहको स्थापना गरिएको छ ।